संयुक्त राष्ट्रसंघले भन्यो, ‘कोरोना भाइरसको डढेलाे मानव अस्तित्वमाथि नै खतरा’

by समतल अनलाइन
Shares

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसको डढेलो मानव अस्थित्वमाथि नै खतराको संकेत बनेर देखापरेको बताएका छन् । उनले अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएका छन् ।

यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलोझैं फैलन गई दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला–एक्लै लडाई पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाई शुरु गर्नुपर्नमा जोड दिए ।

एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाईबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए ।

संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ । कोरोनाविरुद्धका लडाईमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाईको लागि अपिल गरेका हुन् ।

महासचिव गुटेरसले यसअघि कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशस्त्र युद्ध तत्काल रोक्न आह्वान गरेका थिए ।

You may also like

This will close in 0 seconds