जिबराज चालिसे
बुटवल। आमा नेपाली नागरिक तर बाबुको पहिचान नखुलेका बालबालिकाको आमाको नामबाट जन्मदर्ता गर्न स्थानीय सरकारले मानेका छैनन् । रूपन्देहीबाट मात्रै हालसम्म दुई सय जनाभन्दा धेरै युवायुवतीले बाबुको पहिचान दिन नसकेरै नागरिकता नलिई फर्केका छन् ।
बुटवल । नाम हो– विमोचन । उमेर ५ वर्ष । तर थर छैन । किनभने उनको बाबुको पहिचान छैन । ‘ईन्डिया हुनुन्छ । आउनुन्न रे !’ यदि कसैले बाबा खै भनेर सोध्यो भने उनले यसो भन्छन् । आफू भने रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ मा रहेको आफ्नो मावली घरमा आमा रीता उपाध्यायसँग बस्छन् । घर छिमेकका आफ्ना उमेरका साथीहरु एलकेजी, युकेजीमा पुगिसके तर, उनले हालसम्म विद्यालय टेकेका छैनन् । ‘छोरो विस्तारै ठूलो हुँदैछ । यसको उमेरका एक दुई क्लास माथि चढिसके । कहिलेदेखि स्कुल जान पाउला खै !’ मलिन स्वरमा आमा रीता भन्छिन् ।
विद्यालय भर्ना हुन नपाउनुको कारण हो उनको जन्मदर्ता नहुनु । विद्यालय भर्ना गर्न भन्दै गएको शैक्षिक सत्रमा उनले छोरालाई लिएर सैनामैनाका लगभग सबै विद्यालयका प्राधानाध्यापकका ढोका चाहरिन् । तर, सबैले एउटै जवाफ फर्काए–‘साथमा जन्मदर्ताको प्रमाण पत्र पनि लिएर आउनुहोला ।’
जन्मदर्ता चाहिन्छ भन्ने कुरा उनलाई थाहा नभएको होइन । छोरो जन्मिएको केही दिनपछि जन्मदर्ता गर्न जन्मस्थल सैनामैनाको नगरपालिका कार्यालय पुगिन् । तर, बाबु नभएको र पहिचान खुल्ने कागजपत्र पनि नभएको भन्दै उनलाई फर्काईयो ।
त्यसपछि आफू जन्मेको कञ्चन गाउँपालिकामा आफ्नो नामबाट छोराको जन्मदर्ता गरिदिन आग्रह रिन् । तर, त्यहाँ पनि बाबुको पहिचान खुल्ने कागजपत्र मागियो र उनलाई फर्काईयो । त्यसपछि उनी फसादमा परेकी छन् । किनभने छोराको बाबु नेपाली नागरिक नै हो भनेर पुष्टी गर्न सक्ने अवस्थामा उनी छैनन् ।
रीताले करिब ६ वर्ष अगाडि पर्वत स्थाई घर बताउने तर भारतमा सरकारी ओहादामा काम गर्दै आएका एक व्यक्तिसँग विहे गरेकी थिइन् । विहेपछि नवदम्पत्ती भारतको देहरादुन लागे । उनी त्यहीँ गर्भ बोकिन् र नेपालको माइतिघर फर्किइन् । फोनबाट सम्बन्ध टुटेको ‘जानकारी’ दिएर रीताका पति एकाएक सम्पर्कबाट हराए । त्यसपछि पतिको अत्तोपत्तो लागेन । न त पतिले भनेको जस्तो पर्वतमा नै उनको कोही आफन्त भेटिए ।
‘मैले चिनेको उसलाई मात्रै हो । देहरादुनमा नै डेरा सरेर बसेको भन्ने सुन्छु । तर, उनलाई खोज्न यो बालकलाई लिएर कसरी जाउँ !’ गुनासो पोख्छिन् ।
माईति फिरेको ९ महिनामा पछि उनले विमोचनलाई जन्म दिईन् । सैनामैनाको पर्रोहा स्वास्थ्य चौकीबाट लगाएको खोपको विवरण हेर्दा उनको नेपालमा नै जन्म भएको पुष्टी हुन्छ । रीतालाई आमा नेपाली नागरिक र छोराको जन्मस्थान नेपालमै भए पनि विगत ४ वर्षदेखि उनले छोराको जन्म दर्ता गर्न नसक्दा छोराको भविष्यको चिन्ता लाग्न थालेको छ ।
‘एकल आमा हुँ । वरपर माइतमा नै बसेको भनेर कुरा काट्ने गर्छन्,’ उनी भन्छिन्–‘अर्कोतर्फ छोराले जन्म दर्ता पाएको छैन । यसले कसरी पढ्ला ? आफ्नो थर त पाएको छैन अझैसम्म ।’
यसो त विमोचनले मात्रै होइन, आमा नेपाली नागरिक तर बाबुको पहिचान खुलाउन नसकेका कसैले पनि जन्मदर्ता गराउन पाएका छैनन् । यद्यपि रुपन्देहीमा त्यस्ता कति बालबालिका छन् भनेर यकीन तथ्याङ्क पाउन भने कठिन छ ।
कञ्चन गाउँपालिका वडा नं २ का वडाध्यक्ष शेरबहादुर चौधरी आफू फसिने डर भएकाले बाबुको पहिचान नभसम्म जन्मदर्ता गर्न हिच्कीचाएको बताउँछन् । ‘हामीसँग प्रचलित कार्यविधि छैन । त्यसैले त्यस्ता बालबालिकाको जन्मदर्ता गर्दा हामी नै फसिने डर हुन्छ ।’ –वडाध्यक्ष चौधरी बताउँछन् । अर्कातर्फ आमाको नामबाट जन्मदर्ता गराए आमा–छोरा कै थर एउटै हुन जाने तर्क गर्दै जन्मदर्ता गर्न वडाकार्यालयहरु आनाकानी गरिरहेका छन् ।
तर, वरिष्ठ अधिवक्ता खुमाकान्त पौडेल बाबुको अवस्था पत्ता नलागेको अवस्थामा जन्म दर्ता गर्ने विषयमा कार्यविधि स्पष्ट नभएपनि बालक÷बालिका जन्मेको स्थानका जो कोही ५ जना साक्षी राखेर आमाको नामबाट नै जन्मदर्ता गर्न मिल्ने बताउँछन् । व्यक्ति हेरेर नेपालमा नै जन्मीएको प्रमाणका आधारमा साक्षी राखेर स्थानीय सरकारले जन्मदर्ता गराउन मिल्ने पौडेल बताउँछन् । ‘वडा कार्यालयले आमाको उपस्थितिमा साक्षी राखेर जन्म दर्ता गराउन मिल्ने छ । यद्यपि यो विषयमा थप बलियो कार्यविधिको आवश्यक छ,’ उनी भन्छन्–‘तर, जन्मदर्ता कै अभावमा बालबालिका विद्यालय नै जान नपाउने अवस्थाको सिर्जना भने गर्नु हुँदैन ।’
बाबु छैनन्, आमाको नामबाट दिँदैनन्
जन्म दर्तामात्रै होइन । रुपन्देहीमा मात्रै आमा नेपाली नागरिक तर बाबुको पहिचान खुलाउन नसकेका कयौं युवायुवतीले हालसम्म पनि नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन रुपन्देहीबाट मात्रै हालसम्म २ सय जनाभन्दा धेरै युवायुवतीहरु बाबुको पहिचान दिन नसकेरै नागरिकता नलिई फर्केका छन् ।
संविधानको धारा ११ उपधारा ५ मा नेपाली नागरिक आमाबाट नेपालमा नै जन्म भएका तर बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुलाई वंशजकै आधारमा नागरिकता दिने उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आमा नेपाली नै भए पनि बाबुको पहिचान खुल्न नसकेका व्यक्तिहरुलाई नागरिकता नदिईएको बताउँछन् । उनी ऐन र कार्यविधिमा स्पष्ट नभएम्म त्यस्ता व्यक्तिहरुलाई नागरिकता दिन नमिल्ने बताउँछन् । ‘कहीँ कतै व्यक्तिको हकमा अदालतहरुले नजिरहरु स्थापना गरेको भए पनि स्पष्ट कार्यविधिको पर्खाहा हामीहरु रहेका छौं । नियमावली बनिसकेपछि हामीले नागरिकता दिन्छौं ।’ प्रमुख जिल्ला अधिकारी पन्थ बताउँछन् । हालसम्म नेपाल नागरिकता ऐन–२०६३ कार्यान्वयनमा रहेकाले उक्त ऐन अनुसार बाबुको पहिचान नभएका व्यक्तिहरुलाई नागरिकता दिन नमिल्ने उनको तर्क रहेको छ ।
यता नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पास हुन सकेको छैन । गत वर्ष साउन ३३ गते प्रतिनिधि सभामा दर्ता भएको उक्त विधेयक हालसम्म समेत संसदीय समितिमा छलफलकै क्रममा रहेको छ ।
विधेयकमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिने गरी थप व्यवस्था गर्ने गरी प्रस्तावित गरिएको छ । यो व्यवस्थाले बाबुको पहिचान नभएको नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्दा भने नेपाली आमाहरूले औपचारिक समानता पाएको देखिन्छ ।
विधेयकका अनुसार विदेशी भन्ने पहिचान भए वंशजबाट अंगीकृत तर त्यस्तो नागरिकता प्राप्त व्यक्तिका बाबुको पहिचान भई विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नागरिकता लिएको नागरिकता कायम रहँदैन ।
यो विधेयक हुवहु पास भएमा बाबुको पहिचान नखुलेका तर आमा नेपाली नागरिक भएका कयौं व्यक्तिहरुले बंशजकै आधारमा नागरिकता पाउने अधिवक्ता खुमाकान्त पौडेल बताउँछन् ।
			        

												
														

