काठमाडौं। देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना तयार पारेको छ ।
कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् ।
नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ ।
एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ । यसरी आन्तरिकमा २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेको समग्रमा डी प्लस ग्रेड आउँछ । डी प्लस ल्याउने विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछ ।
अहिलेसम्म कक्षा ११ र १२ मा बाह्य र आन्तरिक परीक्षामा छुट्टाछुट्टै अंक राख्ने गरिएको छ । सैद्धान्तिक परीक्षामा समेत डी प्लस ल्याएका विद्यार्थीको मात्र राष्ट्रिय परीक्षा बोर्डबाट ट्रान्सक्रिप्ट जारी हुन्छ ।
सैद्धान्तिक र आन्तरिकको एउटै कोड नम्बर राख्नु र दुवैको अंक जोडेर एकीकृत रूपमा ग्रेड प्राप्त गर्ने व्यवस्थाले निकै कमजोर विद्यार्थीसमेत उच्च शिक्षाका लागि दाबेदार हुने विज्ञको दाबी छ । कक्षा ११ मा आगामी शैक्षिकसत्रदेखि र कक्षा १२ मा एक वर्षपछि नयाँ पाठ्यक्रम लागू हुँदै छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल भन्छन, ‘शिक्षकलाई विश्वास गर्नुपर्छ’
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले हरेक विषयको आन्तरिक र बाह्य मूल्यांकन जोडेर ग्रेडिङ गर्ने बताए । विद्यालयका शिक्षकले गर्ने आन्तरिक मूल्यांकन पनि विश्वसनीय हुन्छ भन्ने विश्वासका आधारमा एग्रिगेटमा ग्रेडिङ गर्न लागेको बताए ।
‘२५ प्रतिशत आन्तरिक मूल्यांकन छ, हामीले आधार तय गर्ने हो, कार्यान्वयनमा शिक्षकलाई विश्वास गर्नुपर्छ,’ महानिर्देशक पौडेलले भने, ‘आन्तरिकमा ल्याउने अंक पनि विश्वसनीय हुनुप¥यो ।’
शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘यो नचाहिने काम हो’
सैद्धान्तिक र प्रयोगात्मक जोडेर पास गराउनु नचाहिने काम हो । सैद्धान्तिक र प्रयोगात्मक दुवैमा पास हुनुपर्छ भन्ने मेरो मान्यता हो । मेरो के जान्छ र भनेर नम्बर दिने संस्कार परिवर्तन नहुँदासम्म छुट्टाछुट्टै पास हुने व्यवस्था गर्नुपर्छ । अब कक्षा ११ र १२ मा २५ नम्बर प्रयोगात्मक राखिएको छ ।
त्यो नम्बर दिन शिक्षकले कुनै कन्जुस्याइँ गर्दैनन् । सैद्धान्तिकमा ५र१० नम्बर ल्याए पनि पास भयो । धेरै विद्यार्थी फेल भए भनेर त्यसको आलोचनाबाट जोगिन शिक्षा मन्त्रालयले ल्याएको नीति हो । धेरै विद्यार्थी पास गराउन शिक्षकका हाकिमको मानसिकताले काम गरेको हो ।
धेरै विद्यार्थी फेल हुनु भनेको सिस्टम प्रभावकारी छैन भन्ने हो । कतिपय दाताहरूले पनि प्रभाव पार्ने गरेका छन् । नेपालमा शिक्षामा लगानी गरेका छन्, त्यसको उपलब्धि देखाउन नीति नै परिवर्तन गरिदिन्छन् । अंकलाई दाताकै दबाबमा लेटर ग्रेडिङमा मूल्यांकन गर्न थालियो । त्यसले कोही पनि फेल हुँदैन भन्ने भ्रम सिर्जना र्गयो ।
पहिले प्रयोगात्मक र सैद्धान्तिकमा छुट्टाछुट्टै पास हुनुपथ्र्यो, अहिले दुई वटाको जोडेर पास हुने प्रणाली स्थापित गरिँदै छ । यसले विद्यार्थीको ज्ञान र सीप बढेको छैन । केही वर्षयताको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको रिपोर्टअनुसार विद्यार्थीको सिकाइ उपलब्धि प्रत्येक वर्ष घटिरहेको छ । हाम्रा विद्यार्थीको क्षमता न सैद्धान्तिक रूपमा बलियो बन्यो, न प्रयोगका हिसाबमा व्यावहारिक बन्यो । नयाँ पत्रिका दैनिकबाट