कोरोना भाइरस : ज्यान गुमाउने ३०४ जना पुगे, १४ हजारा बढी संक्रमित

by समतल अनलाइन
Shares

शनिबार वुहानमा मात्रै ४५ जनाको गयो ज्यान, एक हजार ९२१ नयाँ संक्रमित

काठमाडौं। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप तीब्र बनेको छ ।
कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३०४ पुगेको छ भने १४ हजार बढी संक्रमित भइसकेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

३३० जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्किएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् । अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै पछिल्लो दुई हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् ।

अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई भने १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन् । रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् । विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच शुरु गरेका छन् ।

तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने अमेरिका र अस्ट्रलियाको यस्ता उपायविरुद्ध छन् । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले शुक्रबार भनेका थिए, ‘यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउन सक्छ ।’

विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्ने ठाउँमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ । सीमा बन्द गरेपछि यात्रुहरू अनाधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी छ ।

शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना संक्रमितको संख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार संक्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो ।

You may also like