काठमाडौं। नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति द्वारा संस्थाको स्थापना दिवसका अवसरमा वार्षिकोत्सब कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा सप्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले नेपालका ज्योतिषी एकताबद्ध भएर धर्म संस्कृतिको संरक्षणमा टेवा पुगेको बताउँदै केही मानिसहरु पर्व सुधारका नाममा धर्म संस्कृति अन्त्य गर्न खोजेकोले त्यसलाई रोक्नको लागि सम्पुर्ण ज्योतिषीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल,दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट,नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणी भट्टराई,नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीकृष्ण अधिकारी,सहप्राध्यापक डा माधवप्रसाद पाण्डे,उपप्राध्यापक पुरुषोत्तम भट्टराई, राष्ट्रिय महिला ज्योतिष संघकी अध्यक्ष रतिदेवी श्रेष्ठ,आचार्य सन्तोष वाशिष्ठ,तिलकराज पौडेल र संस्थाका महासचिव कमल प्रसाद काफ्ले लगाएतले नेपाल ज्योतिष परिषद्को उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा अठोला पन्चाङ्गका पन्चाङ्गकार डिल्लीराज जोशी,तारकेश्वर पंचाङ्गका पन्चाङ्गकार दिव्यपुरुष ढकाल,समाजसेवी विष्णु लक्ष्मी श्रेष्ठ र युनाइटेड सिमेन्टस् प्रालिलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम अध्यक्ष ज्योतिषि माधवराज पाण्डेको अध्यक्षता,उपाध्यक्ष विष्णुदत्त लेखकको स्वागत मन्तव्य एवम् वरिष्ठ सदस्य लक्ष्मण पन्थिको सन्चालनमा सम्पन्न भएको शिवलाल पौडेलले जानकारी दिनुभएको छ।
वार्षिकोत्सबको अवसरमा विभिन्न प्रदेश र जिल्ला समितिहरुले कार्यक्रम गरेका छन् २ नम्बर प्रदेशमा बाराको कलैयामा , प्रदेश नम्बर ५ मा रुपन्देहीको बुटवलमा र कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगरमा विभिन्न कार्यक्रमहरु सप्पन्न भएको क्रमशः केन्द्रीय उपमहासचिव ज्योतिष सम्राट् पुरुषोत्तम दुवे, ज्योतिषी जनार्दन न्यौपाने र डा. गौरीशंकर शर्माले खबर पठाउनुभएको छ ।
