दाङमा फस्टाउँदै मेवा खेती

by समतल अनलाइन
Shares

दाङ। जिल्लामा पहिलोपटक मेवाको व्यावसायिक खेती सुरु गरिएको छ। घोराही उपमहानगरपालिका-५ वसन्तपुरमा १० कट्ठा जमिन लिजमा लिएर दुई जनाले मेवाको व्यावसायिक खेती सुरु गरेका हुन्।

१० कट्ठा जमिनमा ९ सय बढी बिरूवा रोपिएको किसान बहादुरसिंह बुढामगरले बताए। वैदेशिक रोजगारीको सिलसिलामा करिब २५ वर्ष भारतको सिम्लामा स्याउ खेतीमा काम गरेका बुढामगरले स्वदेशमै केही गर्ने उदेश्यले मेवा र अम्बाको व्यावसायिक खेती सुरु गरेको बताए।

एक बिघा जग्गा लिजमा लिएका बुढामगरले १० कट्ठामा अर्का एक जनासँग मिलेर मेवा र १० कट्ठा जमिनमा एक्लै अनार तथा कागती खेती गरेका हुन्।

मेवाबाट थोरै लगानीमा राम्रो प्रतिफल लिन सकिने र बाँझो जमिनसमेत उपयोग गर्न सकिने भएकाले लगानी गरेको कृषक ओमबहादुर केसीले बताए।
विदेशमा काम गरेर बसिरहनुभन्दा स्वदेशमै केही गरौँ भन्ने उदेश्यले गएको असारमा मेवाका बिरूवा रोपेर व्यवसाय सुरु गरेको उनी बताउँछन्। ‘अरूको देशमा मिहेनत र पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेका छौं,’ बुढामगरले भने, ‘रोपेको बिरूवा राम्रोसँग हुर्किरहेकाले राम्रो उत्पादन हुने विश्वास छ।’

बिरुवा रोपेको चार महिनामै उत्पादन दिने भए पनि आफूहरूले रोप्दा समय नमिलाएकाले उत्पादनमा ढिलाइ हुने भएको बुढाले बताए। उनले ‘रेड लेडी’ जातको मेवाका बिरूवा रोपेका छन्।

मेवाबाट थोरै लगानीमा राम्रो प्रतिफल लिन सकिने र बाँझो जमिनसमेत उपयोग गर्न सकिने भएकाले आफूले लगानी गरेको अर्का कृषक ओमबहादुर केसीले बताए। उनका अनुसार मेवा खेतीमा चार लाख बढी खर्च गरिएको छ। जमिन खन्नेदेखि बिरूवा रोप्न, गोडमेलसँगै बिरूवामा हुर्काउनसम्म उक्त रकम खर्च भएको उनको भनाइ छ।

‘जिल्लामा अन्य फलफूलका व्यावसायिक खेती हुने गरेको छ, तर मेवाको व्यावसायिक खेती हुन सकेको छैन,’ केसीले भने, ‘अरूले व्यवसाय गरेको भन्दा अलि फरक गरौँ भनेर मेवा खेती सुरु गरेका हौं।’ मेवाको व्यावसायिक खेती सुरु गर्दा उनीहरूले कृषि ज्ञान केन्द्रसँग प्राविधिक सहयोग लिइरहेका छन्।

जिल्लामा पछिल्लो समय मेवाको व्यावसायिक खेती बढ्दै गएको कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ। हावापानी उत्तम, थोरै लगानीमा राम्रो उत्पादन लिन सकिने भएपछि जिल्लामा मेवा खेती गर्ने किसान बढ्दै गएको केन्द्र घोराहीका निमित्त प्रमुख भरत पोख्रेलले बताए। उनका अनुसार पछिल्लो समय जिल्लामा मेवाको व्यावसायिक खेती फस्टाउँदै गएको छ। धर्नासँगै नारायणपुर, देउखुरीलगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा मेवाको खेती सुरु गरेको उनले बताए।

You may also like

This will close in 0 seconds