राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले गरे इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा

by समतल अनलाइन
184Shares

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने बताएका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेकाे बताएका हुन् ।

इरानले अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणबाट अमेरिकी सेनातर्फ कोही हताहती नभएकाे समेत बताए । उनले सम्बोधनका क्रममा भने, ‘अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भएको छैन। हाम्रो तर्फ कसैको मृत्यु पनि भएको छैन। हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। शिविरमा केही क्षति मात्र भएको हो ।’

सम्बोधनका क्रममा ट्रम्पले आफू राष्ट्रपति रहुञ्जेल इरानलाई आणविक अस्त्र प्रयोग गर्न नदिने पनि बताए ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर इरानी सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गरेका हुन् ।

अमेरिकी कारबाहीमा आफ्ना सैनिक कमाण्डर मारिएपछि इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइल हमला गरेको थियो। उक्त हमलामा कोही हताहत नभएको अमेरिकाले दाबी गरेपनि इरानले भने ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको थियो ।

यसअघि आजै इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

Comments

You may also like

This will close in 0 seconds