आज नेपालका पश्चिमी र भोलि राजधानी काठमाडौं लगायतका क्षेत्रमा पानी पर्ने

by समतल अनलाइन
Shares

काठमाडौं । पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौंलगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ।

इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ समेत पार्नेछ। पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ।

यसैकारण आज पश्चिम क्षेत्रको मौसम पुरै बदली हुने र पूर्वमा पनि घाम–छायाँको अवस्था हुने मौसमविद्हरुले जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा बर्षा समेत हुनेछ।

भोलि बुधबार भने काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ। शुक्रबारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ।

पश्चिमी निम्‍नचापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन विभागले अनुरोध गरेको छ।

You may also like

This will close in 0 seconds