सानेपामै असन्तुष्ट काँग्रेसको जिल्ला सभापतिको भेला

by समतल अनलाइन
Shares

काठमाडौं । काँग्रेस संस्थापन विरुद्द एकगठ भएका संस्थापन इतर समुहले आज पार्टी कार्यालयमै जिल्ला सभापतिको भेला बोलाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र कोइराला पक्षका नेताहरुले यो भेलाको तयारी गरेका हुन् ।

११ पुसमा आफुहरुको बहिष्कारका बावजुद सभापतिले केन्द्रीय विभागलाई झण्डै दोब्वरको संख्यामा बढाएको, महाधिवेशन कार्यतालिका एकतर्फी सार्वजनिक गरेको र तरुण दलको म्याद ६ महिना थप गरेको भन्दै संस्थापन इतर पक्ष एक गठन भएका छन् । त्यसयता उनीहरुले देउवाले बोलाएको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने देखि संस्थापनको निर्णयलाई चुनौती दिन जिल्ला सभापतिहरुके भेला बोलाउने सम्मका निर्णय लिएका थिए ।

जिल्ला सभापतिमा देउवा पक्ष भन्दा रामचन्द्र पौडेल पक्ष बलियो छ । भेलामा सिटौला पक्षका जिल्ला सभापतिहरुको पनि सहभागिता रहने नेताहरुको भनाई छ । भेला तयारीका लागि हिजो दिनभर उनीहरुले महामन्त्री डा शसांक कोइराला निवास महाराजगन्जमा तयारी बैठक गरेका थिए । आफु विरुद्ध पौडेल सिटौला पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएपछि त्यस्तो भेलालाई सभापतिले अवैधानिक भेलाको संज्ञा दिएका छन् ।

उनले आन्तरिक रुपमा भेलामा सहभागी नहुन र सहभागि भए अनुशासनको कारवाही गर्नेसम्मको चेतावनी जिल्ला सभापतिहरुलाई दिएका छन् । पार्टी कार्यालयमै भेला आयोजना गरेपछि देउवा पक्ष पौडेल पक्षसँग जुध्ने रणनीतिमा लागेको छ ।

पौडेल पक्षले बोलाएको भेला असफल पार्न देउवा पक्षले जुनसकै रणनीति अवलम्वन गर्ने योजना बनाएको छ । सानेपामा पौडेल, सिटौला पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएपछि देउवा निवास बुढानिलकण्ठमा भेला विफल पार्ने योजनाका बारेमा छलफल भएको स्रोत बताउँछ ।

‘उहाँहरु अनुशासन तोडेर जान खोज्दै हुनुहुन्छ, गुटका भेला गर्ने र नेतृत्वविरुद्ध मोर्चावन्दी गर्ने कुरा सधैका लागि सैह्य हुदैन्’, देउवा निकट एक नेता भन्छन् –‘अनुशासन तोड्दै समानान्तर भेला र गतिविधि गदै नेतृत्व विरुद्ध जान खोजे अनुशासनको कारवाही हुन्छ ।’ देउवा पक्षले भेला कमजोर पार्न जिल्ला सभापतिहरुलाई चेतावनी युक्त निर्देशन गरेपनि भेलामा कम्तीमा ४० जिल्ला सभापतिहरु सहभागी हुने पौडेल पक्षको तर्क छ ।

४० जिल्ला सभापतिहरुको भेलाले लिने र दिने दबाव पार्टी सभापतिलाई ठूलो दबावका रुपमा रहने पौडेल पक्षको बुझाई देखिन्छ । यो पक्षले जिल्ला सभापति पछि क्षेत्रिय सभापतिहरुसम्मको भेला आयोजना गर्ने तयारी पनि गरेको छ । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत लगायत नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रम बनाईएको पौडेल पक्षले बताएको छ ।

नेता कृष्ण सिटौला भने धनकुटामा रहेका कारण भेलामा सहभागी हुने नहुने टुंगो लागिनसकेको पौडेल पक्षको तर्क छ । तर सिटौला पक्षका सभापतिहरुको पनि भेलामा सहभागिता हुने र सिटौला पनि सकभर भेलामा आउने पौडेल पक्षले बताईरहेको छ ।

You may also like

This will close in 0 seconds