अडिटरकै मिलेमतोमा सामान नकिनी झुटा बिल बनाउँछन् व्यवसायी

by समतल अनलाइन
173Shares

काठमाडौँ । व्यवसायीहरुले सामान खरिद नै नगरी झुटा बिल बनाउने र भन्सार चोरी पैठारी गरेर राजस्व छली गर्ने गरेको खुलेको छ । उनीहरुले अडिटरको मिलेमतोमा यसरी किर्ते काम गर्ने गरेको फेला परेको हो । अडिटमा दुरुस्त देखिएपनि अनुसन्धान गर्दै जाँदा उनीहरुले वस्तु वा सेवा खरिद नगरी नक्कली मुल्य अभिवृद्धि करको विजक प्रयोग गरेको फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

यसरी कर छली गरेर राज्यको करोडौँ राजस्व छली गर्नेमा काठमाडौँको अग्रिम ईन्टरप्राईजेजका सञ्चालक नविन चौलागाईसमेत चार जना छन् । उनले मिलेमतोमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (घ) बमोजिम कसुर गरेको विभागले दावी गरेको हो । उनीहरुले मुल्य अभिवृद्धिकरतर्फ ३ करोड ६७ लाख र आयकर तर्फ नौ करोड २० लाख बिगो बराबरको राजस्व छलेको अनुसन्धानमा खुल्न आएको छ ।

राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम १२ करोड ८७ लाख ८८ हजार विगो बराबर राजस्व चुहावट गरेको फेला परेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उक्त करोडौँ कर छलीमा नविन चौलागाई र फर्मका कर्मचारी तोयानाथ अधिकारी तथा उक्त फर्म अडिट गर्ने अडिटर रामबहादुर तामाङ्ग र दीपककुमार कोइराला संलग्न रहेको आरोप छ ।

उनीहरु विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम असुल गरी विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग दाबी लिई काठमाडाँै जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।

सन्दिप ट्रेडिङ पनि राजस्व छलीमा
सन्दिप ट्रेडिङ्गका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाले पनि करोडौँ राजस्व छली गरेको भनी मुद्धा परेको छ । उनीहरुले २ करोड ६४ लाख बिगो बराबरको राजस्व चुहावट गरेको विभागले जनाएको छ । कम्पनीका सञ्चालक प्रमिलाकुमारी साह तथा मुनेशकुमार रौनियारले मुल्य अभिवृद्धिकरको विजक जारी नगरी सादा बिलबाट मालसामान विक्री गरी उक्त विक्री रकमलाई मुल्य अभिवृद्धि कर विवरण तथा आय विवरणमा समावेश नगरेको र भौतिक गणनामा समेत फरक पारेको फेला परेको छ ।

उनीहरु विरुद्ध भन्सार चोरी पैठारीमा संलग्न भइ राजस्व चुहावट गरेको आरोपमा २ करोड ६४ लाख विगो असुल गरी दोब्बर जरिवाना र तीन बर्ष कैद सजायको माग गर्दै आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

Comments

You may also like

This will close in 0 seconds