24
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–४, धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेले जानकारी दिएका छन्।
प्रहरीका अनुसार बालक आफ्नै घरअगाडि खेलिरहेका बेला घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेका थिए। घटनामा उनको मुखमा चोट लागेको थियो।
घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको भए पनि चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया पूरा भएपछि आफन्तले बालकको शव बुझेर लगेको प्रहरीले जनाएको छ।


