काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पुराना नेताहरूले देश बिगारेको र नयाँ पुस्ताका कलिला जुंगा भएकाहरूले पनि देश बनाउने संकेत नदेखाएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै चौधरीले अब आधाआधी कपाल फुलेका नेताहरूबाट भने देश बनाउने आशा रहेको बताए । उनले कांग्रेसले राणा शासन अन्त्य, कमैया मुक्ति र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरेका थिए ।
उनले भने- ‘पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक देखाएका छैनन् । अब आधाआधी कपाल फुलेका नेताहरूले भने देश बनाउने आशा रहेको छ ।’
उनले संविधानमा अधिकार लेखिए पनि थारू समुदायले व्यवहारमा अधिकार नपाएको गुनासो गर्दै चौधरीले थारू समुदायबाट कहिले प्रधानसेनापति र मुख्यसचिव हुने भन्दै प्रश्न गरेका थिए ।
चौधरीले थारू समुदायको पहिचान कुनै धर्मसँग साट्न नसकिने बताउँदै टीकापुरलाई जिल्ला बनाउने पुरानो माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूलाई थारूको मात्र नेता भनेर बुझ्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै नेपालको राजनीतिमा जालझेल रहेको टिप्पणी गरेका थिए ।

