बुटवलमा पहिलो पाईला नेपालको रक्तदान, २५ जना नयाँ रक्तदाता सहभागी

by समतल अनलाइन
28Shares

बुटवल । युवाको ऐक्यबद्धता रक्तदानमा नयाँ पाईला’ भन्ने नारासहित पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ ।

पछिल्लो समय देखिएको रगत अभावलाई केही हदसम्म सम्बोधन गर्ने तथा युवापुस्तालाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने युवाको उल्लेख्य सहभागिता रहेको थियो । २५ जना नयाँ रक्तदाताले पहिलोपटक रक्तदान गरेका थिए ।

पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव रक्षा न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको संयोजन कार्यसमिति सदस्य प्रकाश जी.सी.ले गर्नुभएको थियो ।

कार्यक्रममा नियमित रक्तदाता समाजका अध्यक्ष अशिष सिलवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । यस्तै पहिलो पाइला नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बुटवल शाखाका पूर्व अध्यक्ष सन्तोष भण्डारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सचिवालय सदस्य राजन अधिकारी, केन्द्रीय सदस्य सन्तोष खरेल, धाकाबाङ रुपन्देही सम्पर्क समाजका सचिव शिव खनाललगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी संस्थाका सल्लाहकार अनुपमान सैजु र गंगाधर न्यौपानेसहित शाखाका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहजीकरणमा भएको रक्तदान कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार रक्तदानसँगै युवाहरूलाई सामाजिक तथा मानवीय सेवाका गतिविधिमा जोड्ने उद्देश्यसमेत राखिएको छ ।

पहिलो पाइला नेपाल बुटवल शाखाले आगामी दिनमा पनि रक्तदानलगायत जीवनरक्षक तथा सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ ।

You may also like