काठमाडौँ । जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो।
मृत्यु हुनेमा चार यात्रु र चालक दलका दुई सदस्य रहेका छन्। मृतकमध्ये ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेको बताइएको छ।
चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट व्यक्तिका रूपमा चिनिन्थ्यो। राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा रहेको मरोन्डेरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बुधबार साँझ करिब ५ बजे दुर्घटनाबारे जानकारी प्राप्त भएको थियो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
चिवायो ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनामा काम गर्ने कम्पनी इन्ट्राट्रेक जिम्बाब्वेका संस्थापक थिए। उनी ग्वान्डा सौर्य परियोजनालगायत विभिन्न सरकारी ठेक्काका कारण चर्चामा आएका थिए।
चिवायो आफ्नो विलासी जीवनशैलीका कारण पनि परिचित थिए। उनले महँगा कार तथा हेलिकप्टरसँग खिचिएका तस्बिर र अन्य सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए।
उनको व्यावसायिक गतिविधि र राजनीतिक सम्बन्धलाई लिएर समय–समयमा प्रश्नसमेत उठ्ने गरेका थिए। चिवायोले राष्ट्रपति मनाङाग्वासँगका भेटघाटका तस्बिर तथा भिडिओ पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए।
यसका साथै उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, केन्याका राष्ट्रपति विलियम रुटो, तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन तथा इस्वाटिनीका राजा मस्वाती तृतीयलगायत विभिन्न देशका नेताहरूसँग भेट गरिसकेका थिए।

