काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर करिब २० रुपैयाँले बढेर आए पनि निगमले नेपाली बजारमा मूल्य नबढाउने निर्णय गरेको हो।
आउँदै गरेको चाडपर्व, हालैको बाढीपहिरोबाट प्रभावित अवस्था तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी साविककै मूल्य कायम गरिएको निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।
नयाँ निर्णयअनुसार क्षेत्रअनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि त्यसअनुसार नेपाली बजारमा बिक्री मूल्य वृद्धि नगर्दा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।
उपभोक्तामाथि तत्काल थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले निगमले बढेको खरिद लागतको भार आफैंले व्यहोर्ने निर्णय गरेको हो।

