बुटवल । बुटवलमा असोज १६ देखि ३१ गतेसम्म ‘रमाइलो बुटवल महोत्सव’ आयोजना हुने भएको छ। रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा महोत्सव सञ्चालन हुने भएको हो।
आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको छ। स्थानीय व्यापार, कृषि उत्पादन, कला, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा समेट्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवमा २५० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार हालसम्म करिब २०० स्टल बुकिङ भइसकेका छन्। कृषिजन्य वस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइनेछ।
महोत्सवमा बाल उद्यानअन्तर्गत ‘जिरो ग्राभिटी राइड’, आठवटा ‘बिग बेन’ टावर र हट एयर बेलुनलगायतका आकर्षण राखिने आयोजकले जनाएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, रेस्टुरेन्ट तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन हुनेछन्।
त्यस्तै, बुटवल डान्स आइडल, मम्मी डान्स, हिपहप डान्स र टिकटक प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक टेकबहादुर गुरुङले बताए। प्रतियोगिताका विजेता एसएमएस वा दर्शकको भोटिङबाट नभई निर्णायक मण्डलको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको छ।
महोत्सव प्रवेशका लागि विद्यार्थीलाई परिचयपत्रका आधारमा ८० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ शुल्क तोकिएको छ। विशेष सांगीतिक कार्यक्रम तथा कन्सर्टका लागि भने ३०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ।
आयोजकले महोत्सव अवधिमा एक लाखभन्दा बढी दर्शक सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको छ। महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराउने घोषणा पनि आयोजकले गरेको छ।
आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धनसँगै बुटवलको व्यापारिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

