सामाजिक सञ्जालमा प्रचण्डको ‘कुखुरा: मान्छे बन्लान् कि नबन्लान् खै !

by समतल अनलाइन

काठमाडौं । सामाजिक सञ्जालमा धेरैपछि राजनीतिज्ञको एउटा डायलग भाइरल भयो, जुन सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुखबाट फुत्किएको थियो ।

licaecnic between description
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मौरी, अरिंगाल’, विष्णु रिमालको ‘छौँडा’ र पीएमका नवनियुक्त सल्लाहकार सूर्य थापाको ‘ढेडु र स्याल’ पछि गएको पुस ५ गते प्रचण्डको ‘कुखुरा र चील’ ले अहिले सामाजिक सञ्जाल तताएको छ ।

५ गते शनिबार बसेको स्थायी समितिको बैठकमा नेताहरुको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले ‘हामी कुखुरा होइन, चील बन्नुपर्छ । हरेक विषयवस्तुलाई कुखुराले जसरी खस्रिएर होइन, चीलले जसरी माथिबाट हेर्नुपर्छ । त्यसो गरे मात्र हामी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर जान सक्छौं’, भनेका थिए ।

‘बोल्यो कि पोल्यो’ जत्तिकै भयो !

उनको सोही डायलगले अहिले सामाजिक सञ्जालमा उडान भरिरहेको छ । पक्ष विपक्षमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । कतिले त सही कुरा गरेको भन्दै ‘चील’ बनेर उडेर नेपाल छोडी युरोप, अमेरिका जान प्रचण्डलाई सुझाएका छन् । कारण, नेपालमा उनको काम छैन रे !

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्…,

‘कम्युनिस्टको कार्यकर्तालाई नि दुःखै छ !

कहिले अरिंगाल, कहिले मौरी, कहिले छौडा, कहिले ढेडु, कहिले बघिनी, कहिले कुखुरा, कहिले चील बन्ने उर्दी आइरहन्छ बेलाबेला ।

यिनले पाँच वर्षभित्रमा पूरै ८४ लाख जुनी काट्ने भए ।

मान्छे पो बन्लान् कि नबन्लान् खै !’

त्यस्तै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीको अरिंगाललाई समेत व्यंग्य गर्दै लेखेका छन्, ‘कहिले चील, कहिले अरिंगाल बन्नमै व्यस्त भएपछि मान्छे बन्ने फुर्सद कहिले मिल्छ र…।’

कतिले ३३ किलो सुन काण्ड, वाइडबडी प्रकरण, निर्मला प्रकरणको रिस पनि पोख्न भ्याए । कोहीले १२ वर्षे जनयुद्धको भूमिगत अवस्था र चीलको प्रसंगलाई जोडेर नियाले र ‘ल ठिक छ’ मा कुरो टुंग्याए ।

सामाजिक सञ्जालमा यस्ता टनाटन प्रतिक्रिया छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु लेख्छन्ः

–‘मावोवादी पार्टीलाई एमालेमा लगेर मिलाएपछि अध्यक्ष कमरेड चीलको कुरा छोड्नुहोस्, कुखुराको पनि चल्ला जस्तो कार्यशैली देखिँदै छ । यही किसिमको चिल बनाइले त आगामी नेकपाको महाधिवेशन सम्म पुग्दा ईश्वर पोखरेल अध्यक्षको बलियो दाबेदार दरिने निश्चित छ ।’

–‘चिल, कुखुरा त बुझिएन हजुर, तर इमान्दार, नैतिकवान र सिद्धान्तमा अडिग भई देशमा सुशासन, कडा कानूनी राज्य, भ्रष्टाचार नियन्त्रण, सिण्डिकेटको अन्त्य गरेर शक्ति बाँडफाँडको नाममा हुने भागबन्डालाई निर्मुल गर्दै देश र आम जनताको पक्षमा काम गर्न सके सबै ठिक हुन्छ !’

–‘उद्देश्य मै खोट देखिएपछि कुखुरा बने पनि चील बने पनि कुनै औचित्य छैन । कसरी चूनाव जित्ने, कसरी कार्यकर्ता संख्या बढाउने, कसरी धेरै भन्दा धेरै सम्पति जम्मा पार्ने भन्दा बढी कुनै ध्यान नभए पछि जनताले अब के आश राख्नु र ?’

–‘ह्या के चील बन्नु ! त्यो त अतिवादीहरुले चलाएको चलन हो । अग्रगामी छलाङ्ग हान्न त हुचिल बन्नुपर्र्छ ।’

–‘कुखुरा चोर्ने चील बन्नुभन्दा घरको शोभा बढाउने र एक छाक मिठो खुराक भइदिने कुखुरा बन्नु नै बेस होला कि कमरेड !

–‘चील भन्दा अब एटिएम बम बन्न जरुरी छ । आणविक शक्तिशाली नेपाल बनाऔँ त कुनै पनि माईकल लाल आएनी नेपाललाई केही गर्न सक्दैन । कसरी हुन्छ चन्दा मागेर भएनी ३०० जति आणविक हतियार राखौँ त ! अनि मात्र सान मान अर्कै हुन्छ । भ्रष्टाचार गरेको पैसा सबै निकालौँ, आणविक हतियार किन्न पुग्छ । यो प्रयास गरौँ ।’

गएको असोज दोस्रो सातातिर मात्रै प्रचण्डले सामाजिक सञ्जाल प्रयोगकर्तासँग गुनासो पोखेका थिए, ‘कहिलेकाहीँ फेसबुक हेरौं न त भन्यो हेर्नै नसकिने हुन्छ । आफैँमाथि खनिएको छ, खनिएको छ । सामाजिक सञ्जालले नेताहरुमाथि अन्याय गरे । नेताहरुलाई मार्नुपर्छ, जिउँदै कोपर्नुपर्छ, रगत पिउनुपर्छ भन्नेहरुको जमातै भेटियो ।’

‘कुनै–कुनै कुरा यो त ठिकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि !’

ती गुनासा सामाजिक सञ्जालमा सुनुवाई हुन नपाउँदै अहिले फेरि खनिएका छन्, खनिएका छन् !

पछिल्लो समय प्रचण्डका अभिब्यक्ति मात्र हैन, नेपाली राजनीतिका ठूला नेताहरु सबैलाई सामाजिक प्रयोगकर्ताले कटाक्ष गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी हुँदै रोशनी शाही काण्डमा कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई जस्ता ठूला नेताहरु पनि ट्रोलको शिकार भइरहेका छन् ।

राजनीतिमा लागेकाहरुलाई सामाजिक प्रयोगकर्ताहरुले उनीहरुकै गतिविधि र अभिब्यक्तिका कारण कटाक्ष गर्नु नौलो कुरा हैन । पछिल्लो समय सञ्चारको शशक्त माध्यम बनेको सामाजिक सञ्जालले नेताहरुलाई सच्चिने र सुध्रनका लागि चेतना प्रवाह गरेपनि नेताहरुले बुझ्न सकेका छैनन् ।

बरु जनताको अभिब्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास चैं भइरहेको छ ।

प्रचण्ड ज्यू, तपाईबाट जनताले धेरै अपेक्षा गरेका थिए, मुलुकको विकास र परिवर्तनको पक्षमा । तर, तपाईले जनमतको कदर गर्न सक्नु भएन सिवाय भाषण वाहेक । तपाईले ‘कुखुरा’ भन्दा रिसाउने भन्दा पनि देश र जनताका लागि असल ‘मान्छे’ बनेर देखाउनुस जनता आफैं तपाईलाई ‘देवता’ बनाउन थाल्नेछन् ।

Shares

You may also like

skip


This will close in 5 seconds