ग्यास अभाव चर्किएपछि विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

by समतल अनलाइन
19Shares

काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि विभिन्न विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन्।

ग्यासको मूल्य वृद्धि भए पनि बजारमा सहज रूपमा उपलब्ध नभएको भन्दै विद्यार्थी संगठनहरूले निगमको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले थाल र खाली ग्यास सिलिन्डर बोकेर बजारमा ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए।

नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटवालले नागरिकका आधारभूत आवश्यकता गाँस र बाससमेत सुनिश्चित गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन्। उनले सामाजिक सञ्जालमार्फत मात्रै सरकार सञ्चालन गर्न खोजिएको आरोपसमेत लगाइन्।

कटवालले देशमा गम्भीर संकट उत्पन्न भएको उल्लेख गर्दै समस्या समाधानका लागि संयुक्त विद्यार्थी संगठनहरू आवश्यक परे जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताइन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए।

विद्यार्थी संगठनहरूले बजारमा ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

You may also like