काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको ‘उच्चस्तरीय सामान्य बहस’लाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले नेपालका समसामयिक राजनीतिक घटनाक्रम, सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा धारणा राख्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस वर्षको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार महासभामा हालसम्म ८१ मुलुकका राष्ट्रप्रमुख तथा नेपालसहित ५० मुलुकका सरकार प्रमुख सहभागी हुने तय भएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार गत वर्ष नेपालमा भएको ‘जेनजी’ आन्दोलन, त्यसपछि सम्पन्न सफल निर्वाचन र निर्वाचनबाट प्राप्त जनादेशअनुसार गठन भएको वर्तमान सरकारका प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न महासभा महत्वपूर्ण अवसर हुनेछ।
महासभाका क्रममा नेपालले अन्तर्राष्ट्रिय सहयोग र सद्भावको निरन्तरता तथा त्यसको थप विस्तारका लागि उच्चस्तरबाटै आह्वान गर्ने तयारीसमेत गरेको सचिव राईले बताए।
यसैगरी, नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपद्का कारण भएको क्षति र जलवायु परिवर्तनको असरलाई पनि प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा प्रमुखताका साथ उठाउने भएका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएपछि नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेको विषय थप पुष्टि भएको मन्त्रालयको भनाइ छ।
“विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि त्यसबाट सिर्जित नकारात्मक असर नेपालजस्ता मुलुकले बढी भोग्नुपरेको छ,” सचिव राईले भने।
उनका अनुसार प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले बारम्बार भोग्नुपरेको जनधनको क्षति र प्राकृतिक विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।
नेपालले जलवायु परिवर्तनका असर सम्बोधनका लागि स्थापना भएका हानि तथा नोक्सानीसम्बन्धी कोषलगायतका संयन्त्रबाट तत्काल र उचित क्षतिपूर्ति उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने तयारी गरेको छ।
त्यसैगरी, जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित तथा धनी राष्ट्रहरूलाई अपिल गरिने सचिव राईले जानकारी दिए।
नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे पनि महासभामा जानकारी गराउने तयारी गरेको छ।
महासभाको अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयक सहायक कार्यक्रमसमेत आयोजना गर्नेछ। विश्वव्यापी जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा परेको असर र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जि–७७ तथा चीनलगायतका समूहका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन्।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा समेत सम्बोधन गर्ने कार्यक्रम छ। उनले नेपालका छिमेकी तथा विभिन्न मित्रराष्ट्रका समकक्षी र संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।

