काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री मेहताले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्।
उनका अनुसार घटना सार्वजनिक भएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको र घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयका प्रतिनिधिसहितको पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले जानकारी दिइन्। घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको मन्त्री मेहताले बताइन्। घटनाका समयमा ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन अघि बढाइएको समेत उनले जानकारी दिइन्।
मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याएर उपचार गर्न निर्देशन दिएको उनले बताइन्। उक्त निर्देशनपछि दुवैलाई अस्पतालमा ल्याई भर्ना गरिएको र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताको भनाइ छ। मन्त्री मेहताले छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाइन्। साथै स्वास्थ्य संस्थामा सेवाका क्रममा देखिएका कमीकमजोरी सुधार गर्दै जाने उनले बताइन्

