काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामाथि सामाजिक सञ्जालमार्फत प्रहार नगर्न आग्रह गरेका छन्।
संसद् बैठकमा बोल्दै लामिछानेले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीलाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए। उनले यो घटना जलवायु परिवर्तनबाट उत्पन्न गम्भीर संकटको परिणाम भएको उल्लेख गर्दै बाढीमा ज्यान गुमाउनेहरू जलवायु परिवर्तनको अन्यायपूर्ण प्रभावको सिकार भएको बताए।
ठूलो क्षति र संकटका बीच पनि प्रभावित क्षेत्रका नागरिक एकअर्कालाई साथ दिँदै पुनः उठ्ने प्रयासमा रहेको उनको भनाइ थियो। यस्तो अवस्थामा पीडितको दुःखमाथि सामाजिक सञ्जालबाट थप प्रहार गर्नु अमानवीय हुने उनले बताए।
लामिछानेले विपद्का कारण शोकमा रहेका नागरिकमाथि साइबर बुलिङ गर्ने र तुच्छ टिप्पणी गर्ने आफ्ना नेता–कार्यकर्तामाथि समेत कारबाही गर्ने चेतावनी दिए। पीडितको आँसु पुछ्ने व्यक्तिको आवश्यकता रहेको भन्दै उनले पीडामा राजनीति वा सामाजिक सञ्जालमार्फत उपहास गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।
रास्वपाका नेता तथा कार्यकर्ताले बाढीपीडितबारे अपमानजनक टिप्पणी वा साइबर बुलिङ गरेको पाइएमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने उनले बताए।
विपद्ले कुनै दल, विचार वा समूह छुट्याएर क्षति नगर्ने भन्दै लामिछानेले पीडित नागरिकको गुनासोलाई लिएर उनीहरूमाथि थप मानसिक पीडा सिर्जना नगर्न सबैलाई आग्रह गरे।

