न्यूजिल्याण्ड ए विरुद्ध खेल्दै नेपाल ए, जित निकाल्ने लक्ष्य

by समतल अनलाइन
25Shares

काठमाडौँ । नेपाल ए टोलीले आज एकदिवसीय सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा न्यूजिल्याण्ड ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ।

नेपाल ए टोलीले यसअघि सिरिजमा खेलेका दुवै खेलमा पराजय बेहोरेको थियो। नेपाल ए साउथ अस्ट्रेलिया र तासमानियासँग पराजित भएको थियो। त्यसैले अन्तिम खेलमा न्यूजिल्याण्ड ए विरुद्ध जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल ए रहेको छ।

नेपाल एले यसअघि अस्ट्रेलियामा टप एन्ड सिरिजसमेत खेलेको थियो। उक्त सिरिजमा नेपालले कुल ६ खेल खेलेको थियो। जसमध्ये दुई खेलमा जित हात पारेको नेपाल चार खेलमा पराजित भएको थियो।

न्यूजिल्याण्ड ए विरुद्धको अन्तिम खेल नेपाल ए का लागि आफ्नो प्रदर्शन सुधार गर्ने अवसरका रूपमा समेत हेरिएको छ। लगातारको पराजयपछि टोली जितका साथ सिरिज टुंग्याउने योजनामा रहेको छ।

नेपाल ए टोलीमा कप्तान अनिलकुमार साहसहित त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

नेपाल ए र न्यूजिल्याण्ड एबीचको खेलमा नेपाली टोलीले ब्याटिङ, बलिङ तथा फिल्डिङमा सुधारिएको प्रदर्शन गर्दै जित निकाल्ने अपेक्षा गरिएको छ।

You may also like