‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

by समतल अनलाइन
128Shares

काठमाडौं। नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै मानिसहरू फसेको अवस्थामा रहेका हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढीसम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अपर त्रिशूली-१, अपर त्रिशूली-३ ‘ए’, अपर त्रिशूली-३ ‘बी’ तथा अन्य आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिए । छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर तथा अन्य सामग्री यी कार्यमा प्रयोग भइरहेका उनको भनाइ छ ।

यसैगरी नेपाली सेनाको सात र गैरसैनिक छ वटा हवाई उडानमार्फत आज दिउँसोसम्म बाढी प्रभावित विभिन्न इलाकाबाट २९ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

त्रिशूली-३ बी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज दुई जनाको जिवितै उद्धार गरेको छ ।

उद्धार गरेका व्यक्तिलाई थप उपचारका लागि हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । खोज तथा उद्धारको क्रममा उक्त स्थानबाट एउटा शव निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।

त्रिशूली-३ बी मा नेपाली सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउन ‘बोब्काट’ को प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ ।

त्यस्तै ‘अडिट १’ बाट ४२६ मिटरभित्र प्रवेश गरेको गर्नुका साथै अडिट-१ बाट एक्साभेटर छिराउन अपरेटरसहित त्रिशूली-३ ए सँग लिङ्कअप गराउने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी दुई वटा शव फेला परेको जनाउँदै र थप खोज तथा उद्धार जारी रहेको छ ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मडपम्प’को सहायताले लेदो फाल्ने कार्य गरिरहेको छ । माथिल्लो त्रिशूली-१ को हाकुस्थित टनेलमा नेपाली सेनाको १७ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’को समेत प्रयोग गरी खोजी कार्य गरिरहेको साथै टनेलमा रहेको पानी फाल्ने कार्य भइरहेको सेनाले जनाएको छ ।

सरकारले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको छ । जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् ।

करिब पाँच हजार ८३ जना अझै बेपत्ता छन्, जसमा ३५ देशका करिब ६०० विदेशी नागरिक रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म एक हजार २८७ वटा शव बरामद गरिएको छ ।

सरकारले मृतकका पार्थिव शरीरबाट डिएनए सङ्कलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएका जनाएको छ ।

नेपालले हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अष्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बङ्गलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, आयरल्याण्ड, चेक गणतन्त्र तथा युरोपेली सङ्घ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र अन्य मित्रराष्ट्र तथा सङ्घसंस्थाबाट विभिन्न राहत सहयोग प्राप्त गरिसकेको छ ।

You may also like

This will close in 0 seconds