भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

by समतल अनलाइन
61Shares

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ।

प्राधिकरणले नेपाली सेनाको हवाई उद्धारमार्फत चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी तथा विपद्का घटनामा घाइते भएका कुल पाँच हजार १३५ जनाको उपचार गरिएको जानकारी दिइन् । उनले नेपाली सेनाबाट तीन हजार २०६, सशस्त्र प्रहरी बलबाट एक हजार ६२८ र विभिन्न अस्पतालमा ३०१ जनाको उपचार गरिएको जानकारी दिइन् ।

प्राधिकणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा छन् ।

‘नुवाकोटमा दुई हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौँमा ३८७ जना रहेका छन्,’ प्रवक्ता महतले भनिन्, ‘खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना नौ हजार २८७, नेपाल प्रहरी सात हजार ९१२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’

उनका अनुसार प्रभावित क्षेत्रमा काठमाडौँबाट ४५ ट्रक, ३७ बोलेरो, नौ हेलिकप्टर उडान र १४ मिनीट्रकमार्फत राहत सामग्री पठाइएको तथा सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।

नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।

You may also like