रसुवा बाढी : नेपाली सेनाद्वारा २१ सयभन्दा बढीको उद्धार, १ हजार ७ सयलाई स्वास्थ्य सेवा

by समतल अनलाइन
38Shares

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले हालसम्म स्थल तथा हवाई माध्यमबाट २ हजार १०१ जनाको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाका अनुसार भदौ १२ गते साँझ ६ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका क्षेत्रबाट हेलिकप्टरमार्फत ५६ जना विदेशी नागरिकसहित ९ सय जनाको उद्धार गरिएको छ। उद्धार गरिएका विदेशी नागरिकमा ३३ भारतीय, ४ जर्मन, १६ चिनियाँ, १ ओमानी र २ कोरियाली नागरिक छन् ।

भदौ १० गतेदेखि हालसम्म नेपाली सेनाले स्थलमार्गबाट २ सय जना र हवाई साधनमार्फत १ हजार ९ सय जनाको उद्धार गरेको छ । हवाई उद्धार गरिएकामध्ये १६३ जना विदेशी नागरिक छन् । तीमध्ये ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ कोरियाली नागरिक रहेका छन् ।
उद्धारसँगै नेपाली सेनाले प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत ढुवानी गरिरहेको छ । काठमाडौँबाट त्रिशूलीसम्म राहत सामग्री स्थलमार्गबाट पठाइएको छ भने आवश्यकताअनुसार हेलिकप्टरमार्फत समेत सामग्री प्रभावित क्षेत्रमा पु¥याउने काम भइरहेको सेनाले जनाएको छ ।

बाढी प्रभावितका लागि नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट शुक्रबार मात्रै ५ सय ६१ जनाले स्वास्थ्य सेवा लिएका छन् । त्रिशूलीस्थित केन्द्रबाट ४ सय ५६ र धुन्चेबाट १ सय ५ जनाले उपचार सेवा पाएका हुन् । यी केन्द्रबाट हालसम्म १ हजार ७ सय ६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

उद्धार, खोज तथा राहतका लागि प्रभावित जिल्लामा नेपाली सेनाका करिब ६ हजार ७ सयभन्दा बढी सैनिक परिचालन भएका छन् । उनीहरूले स्थानीय निकाय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम गरिरहेका छन् ।

सेनाले भदौ १३ गते पनि खोज तथा उद्धारलाई निरन्तरता दिने जनाएको छ। नदी किनारमा शवको खोजी तथा व्यवस्थापनमा सहयोग गर्ने, आपत्कालीन स्वास्थ्य सेवा सञ्चालनलाई निरन्तरता दिने तथा मैलुङ, टिमुरे र स्याफ्रुवेशी क्षेत्रमा खोज तथा उद्धार गर्ने योजना छ ।

त्यस्तै, आसपासका टनेलमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार गर्नुका साथै अवरुद्ध सडक सञ्चालनमा ल्याउने कार्यलाई समेत प्राथमिकतामा राखिएको नेपाली सेनाले जानकारी दिएको छ ।

You may also like