रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर

by समतल अनलाइन
42Shares

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक सफलता हासिल गरेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्।

ढाँटले मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गरे। निर्णायकहरूले २९–२८, २९–२८ र २८–२९ को स्कोर दिएका थिए। दुई निर्णायकको समर्थन पाएपछि ढाँट विजयी भएका हुन्।

रवीन्द्र र कासिबबीचको सेमिफाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक र कठिन रह्यो। दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै खेलका विभिन्न क्षणमा आफ्नो दबदबा कायम गरेका थिए। १५ मिनेटसम्म चलेको भिडन्तमा दुवैले आक्रामक र संयमित खेल प्रस्तुत गरे।

फाइनलमा पुगेसँगै रवीन्द्र रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब उनले फाइनल जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।

‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले बान्टमवेट विधामा अहिलेसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्।

रवीन्द्रले आफ्नो एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।

रवीन्द्रले रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा पनि महत्वपूर्ण जित निकालेका थिए। गत मे महिनामा मकाउमा आयोजित उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

त्यससँगै उनी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए। अहिले सेमिफाइनलमा समेत जित निकाल्दै रवीन्द्रले नेपाली एमएमएको इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेका छन्।

You may also like