दैलेख। दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको कब्जाबाट १९ घण्टापछि मुक्त भएका छन् ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँमा एउटा घरमा उनलाई राख्ने तयारी भएका वेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेपछि आइतबार साँझ उनी मुक्त भएका हुन् ।
शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले अपहरणकारीले एउटा घरमा लुकाउँदै गर्दा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले हवाईफायर गरेपछि अपहरणकारी शाहीलाई छाडेर भागेको जानकारी दिए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अध्यक्ष शाहीलाई प्रहरीको सम्पर्कमा ल्याइसकेको र अपहरणकारीको खोजीकार्य तीव्र पारिएको जानकारी दिए ।
शनिबार राति १२ः३० बजे ठाटीकाँध गाउँपालिका–२ स्थित श्रीपाटास्थित घरमा सुतेको अवस्थामा नेकपा कार्यकर्ताले ‘तपाईंहरूसँग विशेष कुराकानी छ’ भन्दै श्रीमती इला मल्ल शाहीलाई समेत लिएर अज्ञात स्थलतर्फ लगेका थिए ।
पत्नी इलालाई भर्ता भन्ने ठाउँमा पुर्याएपछि छाडिदिएका थिए । ठाटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष रूपलाल विकले आफूहरू बिजारैचौर नजिक आइपुगेपछि शाही अपहरणमुक्त भएको खबर प्राप्त भएको जानकारी दिए ।
शाहीकी पत्नी इलाले विप्लवका कार्यकर्ताले आफूहरूको लडाइँ राज्यसत्तासँग रहेको र तपाईंहरूसँग कुनै पनि दुस्मनी नभएको भन्दै प्रशिक्षण कार्यक्रमपछि फर्काइ दिने भन्दै औषधि, कपडा समेत लैजान आग्रह गरेको बताइन् ।
दैलेख र कालिकोटको सिमानामा पर्ने भर्ताको सुकाने लेकभन्दा केही अगाडि पुगेपछि इला मल्लले चिनेका व्यक्तिहरूको पहिचान हुने भएपछि अपहरणकारीले अध्यक्ष शाहीलाई मात्र लिएर गई आफूलाई त्यहीँ छाडेको उनको भनाइ छ ।
विप्लव कार्यकर्ताले दैलेखमा गत असारमै सबै स्थानीय तहमा चन्दाका लागि पत्राचार गरेका थिए । वडाध्यक्ष, कार्यपालिका सदस्य र स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरूलाई रकम तोकेरै चन्दा माग गरिएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारीले स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरूलाई डाकेर चन्दाको विषयमा छलफल चलाएका थिए ।
जसमा ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाहीले आफू गल्ती पनि नगर्ने र एक रुपैयाँ कसैलाई चन्दा पनि नतिर्ने घोषणा गरेका थिए । चन्दाको विषयमा कठोर बनेकै कारण उनको अपहरण भएको हुन सक्ने आशंका गरिएको छ ।
विप्लवद्वारा शाहीलाई नियन्त्रणमा लिएको स्वीकार
विप्लव नेतृत्वको नेकपाले ठाँटी गाउँपालिका अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको स्वीकार गरेको छ ।
आइतबार विज्ञप्ति जारी गरी नेकपाले राष्ट्रघाती, भ्रष्ट, सुदखोर, मिटरब्याजीलाई कारबाही गर्ने पार्टीको केन्द्रीय नीतिअनुसार उनलाई नियन्त्रणमा लिएको जनाएको हो । शाहीले गाउँपालिकामा भ्रष्टाचार गरेको, कमिसन खाएकाले छानबिन गर्न नियन्त्रणमा लिएको उसको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट