आज राति देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको जोखिम

by समतल अनलाइन
42Shares

काठमाडौ। आज राति देशभर मौसम सामान्यतया बदली रहने भएको छ। मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा पनि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

पहाडी भू–भागतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

You may also like