बुटवल ।बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल हुने भएका छन् ।
भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विहिबारसम्म पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा भएको प्रतियोगितामा विहिबार पाँच खेल भए ।
सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ ।
नविनले ३–० गोलअन्तरले जित निकालेको हो । नवीनका रोयल पंगेनी एक्लैले तीनै गोल गर्दै ह्याट्रिक पूरा गरे र आफ्नो असाधारण प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै विहिबारको दोस्रो खेलमा शिवपुर माध्यमिक विद्यालयले एचिभर्स एकेडेमीलाई ४–० गोलअन्तरको पराजित गरेको छ । शिवपुरका किरण थारु, अमित थारु, ओमबहादुर थापा र दीपेश कुँवरले समान एक–एक गोल गरे। उत्कृष्ट प्रदर्शनका लागि राज थापा प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै तेस्रो खेलमा लुम्बिनी शिक्षालय वियी भएको छ । लुम्बिनी शिक्षालयले मेडिटेक एकेडेमीलाई २–० ले पराजित गरेको हो । लुम्बिनीका दीपेश मगर र मानव शाक्यले समान एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । उत्कृष्ट प्रदर्शनका लागि मानव शाक्य प्लेयर अफ द म्याच घोषित भए ।
यसैगरी दिउँसो भएको खेलमा युगज्योति माध्यमिक विद्यालयले लुम्बिनी वल्र्ड स्कुलमाथि १–० को जित निकाल्यो। मनोज सुनारको निर्णायक गोल नै टोलीको जितको आधार बन्यो, जसका लागि उनी प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै पाँचौ तथा अन्तिम खेलमा सेन्ट जोसेफ इङ्ग्लिस बोर्डिङ स्कुलले पश्चिमाञ्चल इङ्ग्लिस बोर्डिङ स्कुलमाथि ६–० को फराकिलो जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको छ ।
प्रिन्स रसाइलीले शानदार ह्याट्रिक पूरा गर्दा प्रशेष थापाले दुई तथा अलिश थापाले एक गोल गरे। उत्कृष्ट प्रदर्शनका लागि प्रिन्स रसाइली प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
विद्यालय तहबाटै खेलाडी उत्पादनमा योगदान गर्ने उदेश्यले गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिताले हौसला बढाएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । शुक्रबारदेखि दोस्रो चरणका खेल हुने विद्यालयका सहप्राचार्य भिम बस्नेतले बताए ।

