कांग्रेसको १५औँ महाधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक

by समतल अनलाइन
32Shares

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मिति २०८३ असोज १६ देखि १९ गतेसम्म नै सम्पन्न गर्ने गरी विभिन्न तह र निकायका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने गरी विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका यसअघि नै प्रकाशित गरिएको थियो। सोही कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोक्नुका साथै अभिमुखीकरण कार्यक्रमसमेत सुरु गरेर अधिवेशन प्रक्रिया अगाडि बढाइसकेको थियो ।

यसैबीच २०८३ साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधानका व्यवस्थालाई ध्यानमा राख्दै महाधिवेशनको पूर्वनिर्धारित मितिमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।

२०८३ असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने विषय सम्मानित सर्वोच्च अदालतको २०८३ वैशाख ४ गतेको फैसलामा समेत उल्लेख गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनको तयारीअन्तर्गत नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ देशका अधिवेशनसमेत सम्पन्न भइसकेका छन् ।

निर्वाचन कार्यक्रमका अधिकांश प्रक्रिया अगाडि बढिसकेको अवस्थामा पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउनुपर्ने तथा भदौको सुरुआती वर्षायामका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई समेत ध्यानमा राखेर अधिवेशनको नयाँ समयतालिका तय गरिएको कांग्रेसले जनाएको छ ।

You may also like