बुटवल। बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ सोमबारदेखि सुरु भएको छ। सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुञ्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो।
बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको उद्घाटन खेलमा अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध इङ्लिस बोर्डिङ स्कुललाई ३–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो। अक्सफोर्डको जितमा एलेक्स छन्त्यालले दुई तथा नेल्सन रास्कोटीले एक गोल गरे। दुई गोल गरेका एलेक्स ‘प्लेयर अफ द म्याच’ घोषित भए।
सोमबार नै भएको दोस्रो खेलमा ग्यालेक्सी ई बोर्डिङ स्कुलले अन्नपूर्ण बोर्डिङ स्कुललाई ७–० को फराकिलो अन्तरले हरायो। ग्यालेक्सीका प्रशर बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भए।
तेस्रो खेलमा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुललाई ६–० ले पराजित गर्यो। उत्कृष्ट प्रदर्शन गरेका नविन बी.के. ‘प्लेयर अफ द म्याच’ बने।
त्यस्तै, चौथो खेलमा जनज्योति माध्यमिक विद्यालयले सुंगाभा पब्लिक माध्यमिक विद्यालयलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गर्यो। आक्रामक खेल, उत्कृष्ट संयोजन र गोल गर्ने क्षमता देखाएका अल्बिस गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए।
दिनको अन्तिम तथा पाँचौँ खेलमा एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलले दीप बोर्डिङ हाई स्कुललाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो।
प्रतियोगितामा रुपन्देहीका ४२ विद्यालयका खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी ‘कुमार’ले सरकार र संघबाट हुन नसकेका खेल गतिविधिलाई निजी विद्यालयको अगुवाइमा अघि बढाइनु सकारात्मक भएको बताए। उनले विद्यालय तहबाटै खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै ग्रासरुट फुटबल विकासका लागि आगामी दिनमा पनि विद्यालयसँग सहकार्यलाई निरन्तरता दिने बताए।
विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। फुटबललाई विद्यालयमा खेलका रूपमा मात्र नभई संस्कृतिका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।
हरेक वर्ष पुरस्कार राशि र सहभागी विद्यालयको संख्या बढाउँदै प्रतियोगितालाई देशकै नमुना विद्यालयस्तरीय फुटबल प्रतियोगिताका रूपमा विकास गर्ने लक्ष्य रहेको भण्डारीले बताए। उनका अनुसार प्रत्येक विद्यालयले एउटा खेललाई प्राथमिकताका साथ अघि बढाउन सके खेलाडी उत्पादनमा थप सहयोग पुग्नेछ।
खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले फुटबलमा नयाँ पुस्ताको उत्साह बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। यस्ता प्रतियोगिताले भविष्यमा प्रतिभावान खेलाडी उत्पादनमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री, सिद्धार्थ केबलकारका नरबहादुर कार्की, एन्फा टेक्निकल सेन्टर बुटवलका निर्देशक बुद्धि गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, विद्यालयका सहप्राचार्य भीम बस्नेतलगायतको उपस्थिति थियो।
प्रतियोगिताको मुख्य प्रायोजन सिद्धिबिनायक फुड्सले गरेको आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू बुटवल देवीनगरस्थित एन्फा मैदानमा दैनिक बिहान ८ बजेदेखि सञ्चालन हुनेछन्।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५१ हजार रुपैयाँ तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

