नेपालकै ठूलो सामुदायिक विद्यालय कालिका मानवज्ञानमा विष्णुहरि ज्ञवाली प्रधानाध्यापक

by समतल अनलाइन
22Shares

बुटवल । नेपालकै ठूलो सामुदायिक विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट विष्णुहरि ज्ञवाली प्रधानाध्यापक नियुक्त भएका छन्।

बुटवल उपमहानगरपालिकाले प्रधानाध्यापक छनोटका लागि आह्वान गरेको विज्ञापनअनुसार प्रतिस्पर्धा गरेका शिक्षकहरूमध्ये माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत ज्ञवालीलाई आगामी पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्त गरिएको हो।

बुधबार बुटवल उपमहानगरपालिका कार्यालयबाट नियुक्तिपत्र बुझेका ज्ञवालीले बिहीबार विद्यालयमा पदभार ग्रहण गरेका छन्। विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको पदस्थापन तथा पूर्वप्रधानाध्यापकलाई धन्यवाद ज्ञापन कार्यक्रममा निमित्त प्रधानाध्यापक पीताम्बर बन्जाडेले ज्ञवालीलाई पदभार हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका पूर्वप्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक विद्यालयको प्रशासन सञ्चालन गर्ने पदमा मात्र सीमित नरहने बताए। समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोड्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लागिरहनुपर्ने जिम्मेवारी प्रधानाध्यापकको रहेको उनको भनाइ थियो।

पाठकले शिक्षक र समुदायबीचको एकता तथा प्रधानाध्यापकको स्पष्ट दृष्टिकोणका कारण कालिका मानवज्ञान विद्यालय नेपालकै ठूलो र उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको बताए। कालिकाको अनुभवलाई आधार बनाएर देशभरका सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकिने विश्वाससमेत उनले व्यक्त गरे।

नवनियुक्त प्रधानाध्यापक ज्ञवालीले विगतमा विद्यालयको नेतृत्व गरेका प्रधानाध्यापकहरूको योगदानको स्मरण गर्दै शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यालयको भौतिक तथा शैक्षिक अवस्थालाई थप उचाइमा पुर्‍याउन आफूले प्राथमिकताका साथ काम गर्ने उनले बताए।

निवर्तमान प्रधानाध्यापक दिनेश थापाले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयले राष्ट्रियस्तरमा उत्कृष्ट पहिचान बनाउन सफल भएको बताए। आगामी दिनमा शिक्षकका रूपमा विद्यालयमै रहेर विगतमा जस्तै उत्साहका साथ योगदान गर्ने उनको भनाइ थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, शिक्षक–अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल, बुटवल कालिका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षक सुदर्शन रेग्मी तथा शिक्षक प्रतिनिधि सेरचन्द्र गिरीलगायतले पूर्वप्रधानाध्यापकहरूको योगदानको चर्चा गर्दै नवनियुक्त प्रधानाध्यापक ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका वर्तमान र पूर्वसदस्य, स्थानीय समाजसेवी, अक्षयकोषदाता, पूर्वप्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

You may also like