रोट्र्याक क्लब अफ बुटवल चौतारीको अध्यक्षमा पुरन बिष्ट

by समतल अनलाइन
68Shares

बुटवल ।रोट्र्याक क्लब अफ बुटवल चौतारीको सातौँ इन्स्टलेसन तथा ह्यान्डओभर समारोह सम्पन्न भएको छ। होटल पौवा, योगिकुटीमा आयोजित समारोहबाट रोटरी वर्ष २०२६/२७ का लागि रोट्र्याक्टर पुरन बिष्ट क्लबको सातौँ अध्यक्षका रूपमा पदस्थापित हुनुभएको हो।

रोटरी वर्ष २०२५/२६ का अध्यक्ष रोट्र्याक्टर युवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहमा रोट्र्याक डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का आईपीडिआरआर रोट्र्याक्टर दिनेश गैरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा डिस्ट्रिक्ट रोटरी कमिटी चियर रोटरियन कृष्ण पाण्डे, पीडिआरआर रोट्र्याक्टर विक्रम क्षेत्री, क्लबका संस्थापक अध्यक्ष रोट्र्याक्टर लक्ष्मण श्रेष्ठ, रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष रोटरियन वासुदेव भुसाल, स्वास्थ्य सेवा विभाग अध्यक्ष रोटरियन डा. विष्णु घिमिरे तथा क्लबका पूर्व अध्यक्ष एवं एडिजी रोटरियन नोमेन्द्र पौडेललगायत विभिन्न रोटरी तथा रोट्र्याक क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको पहिलो सत्र रोटरी वर्ष २०२५/२६ का सचिव रोट्र्याक्टर भुवराज अर्यालले सञ्चालन गर्नुभएको थियो। सो अवसरमा निवर्तमान अध्यक्ष रोट्र्याक्टर युवराज अर्यालले आफ्नो कार्यकालमा सम्पन्न कार्यक्रम तथा गतिविधिको प्रस्तुतीकरण गर्दै क्लबले हासिल गरेका उपलब्धि र प्राप्त अवार्डहरूको समीक्षा गर्नुभयो। उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने बोर्ड सदस्य, क्लब सदस्य, डिस्ट्रिक्ट नेतृत्व, जोन प्रतिनिधि तथा छिमेकी क्लबका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै मायाको चिनोसमेत प्रदान गर्नुभयो।

समारोहको दोस्रो सत्र नवनिर्वाचित अध्यक्ष रोट्र्याक्टर पुरन बिष्टको बायोपिक प्रदर्शनसँगै सुरु भएको थियो। क्लबका संस्थापक अध्यक्ष रोट्र्याक्टर लक्ष्मण श्रेष्ठले अध्यक्ष बिष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो।

पदभार ग्रहण गर्दै अध्यक्ष बिष्टले रोटरी वर्ष २०२६/२७ को थिम तथा प्लान अफ एक्सन सार्वजनिक गर्नुभयो। उहाँले आगामी कार्यकालमा व्यक्तित्व तथा नेतृत्व विकास, सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर क्लबका गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, वर्षभरि तय गरिएका योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न क्लबका सदस्य, रोटरी परिवार तथा शुभेच्छुकहरूको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।

समारोहमा रोटरी वर्ष २०२६/२७ का बोर्ड अफ डाइरेक्टर्सको घोषणा, शपथ ग्रहण तथा पिन प्रदान गरिएको थियो। त्यसैगरी, क्लबमा आबद्ध नयाँ सदस्यहरूको इन्डक्सन समारोहसमेत सम्पन्न भयो। नयाँ सदस्यहरूलाई पीडिआरआर रोट्र्याक्टर विक्रम क्षेत्रीले शपथ गराउनुभएको थियो।

कार्यक्रममा विभिन्न रोटरी तथा रोट्र्याक क्लबका अध्यक्ष, ट्रिप्लेट क्लबका प्रतिनिधि, पूर्व अध्यक्ष, डिस्ट्रिक्ट प्रतिनिधि तथा अन्य विशिष्ट अतिथिहरूले नवनिर्वाचित अध्यक्ष पुरन बिष्ट तथा नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

क्लबका भाइस प्रेसिडेन्ट रोट्र्याक्टर सुजन शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा भाइस प्रेसिडेन्ट रोट्र्याक्टर कृष्ण बञ्जाडीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। समारोहमा दुई सयभन्दा बढीको सहभागिता रहेको थियो।

उत्साह, सम्मान र सेवामूलक भावनाका साथ सम्पन्न समारोहले रोट्र्याक क्लब अफ बुटवल चौतारीको नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ। नयाँ नेतृत्वले युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक सेवा र समुदायमुखी गतिविधिलाई प्राथमिकतामा राख्दै क्लबलाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको क्लबले जनाएको छ।

You may also like