काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले काम गर्ने ढंग नपुर्याएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद झाले सरकारको नियतमा कुनै शंका नभएको बताउदै काम गर्ने ढंग भने नपुगेको देखिएको टिप्पणी गरेका हुन् ।
उनले विकासमा दिगोपन र सन्तुलन आवश्यक भएको भन्दै त्यसका स्टेक होल्डहरु असुरक्षित रहेको बताए । उनले मधेशमा हालैको आगो निभेको भन्दै आगो निभेपनि दाउरा बाँकी नै रहेको भन्दै सरकारलाई सचेत गराएका छन् ।
सांसद झाले मधेशमा विभेद कायम रहेको बताउदै विमानबाट आउदा ल्यापटप ल्याउन दिने तर गरिबले सीमामा चिप्स ल्याउदा पक्रिने गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।
उनले राज्य सन्तुलित हुनुपर्ने र जनताको बीचमा हुनुपर्ने भन्दै राज्यले गाडीको कालो सिसा हटाएको र अब कालो चश्मा पनि हटाउनुपर्ने बताए ।
सांसद झाले प्रवासमा रहेका नेपालीलाई विश्वासमा लिएर विकासमा सहभागी गराउनुपर्ने बताए । उनले निजी क्षेत्रमा त्रास रहेको उल्लेख गर्दै प्रहरी देख्दा डराउनुपर्ने अवस्था सिर्जना भएको भन्दै मधेश, प्रवास र निजी क्षेत्रलाई साथमा लिएर विकासमा दिगोपन र सन्तुलन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

