बुटवलमा ३२औँ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा मनाइने, प्रमुख अतिथिमा उपाध्यक्ष रेशम गुरुङ

by समतल अनलाइन
52Shares

बुटवल । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् रुपन्देहीले ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते बुटवलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

बुटवल उपमहानगरपालिका–४ स्थित थकाली समाज सेवा भवनमा बिहान ११ः३० बजेदेखि सुरु हुने कार्यक्रममा आदिवासी जनजाति समुदायका प्रतिनिधि, विभिन्न जातीय संस्थाका अगुवा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहनेछ।

नेपाल आदिवासी जनजाति युवा महासंघका सचिव अर्जुन गुरुङका अनुसार विश्व आदिवासी जनजाति दिवस केवल औपचारिक कार्यक्रम नभई आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति र प्राप्त उपलब्धिको संरक्षण तथा प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने अवसर हो। दिवसलाई अधिकारमुखी अभियानका रूपमा मनाउन सबैलाई कार्यक्रममा सहभागी हुन उनले आग्रह गरेका छन्।

यस वर्ष आदिवासी धामी, झाँक्री तथा परम्परागत सुत्केरी सेवामा संलग्न व्यक्तिहरूको सम्मान : जीवन र स्वास्थ्यको संरक्षण” भन्ने अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइँदैछ। साथै “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने सन्देशलाई पनि कार्यक्रममा विशेष रूपमा उठाइने आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न आदिवासी जनजातिका सांस्कृतिक झाँकी, मौलिक कला–संस्कृतिको प्रस्तुति, शुभकामना आदान–प्रदान तथा आदिवासी जनजातिका अधिकार, पहिचान, समावेशीता र समसामयिक विषयमा अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ।

You may also like