तिलोत्तमामा बजार अनुगमन तीव्र, दूधको नमुना गुणस्तर परीक्षणका लागि प्रयोगशालामा

by समतल अनलाइन
42Shares

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै स्थानीय दूध डेरी तथा कृषि उपज भण्डार एवं बिक्री केन्द्रहरूको निरीक्षण गरेको छ। अनुगमनका क्रममा दूधको नमुना संकलन गरी गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएको नगरपालिकाले जनाएको छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि नगरपालिकाले उल्लेख गरेको छ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा ९ वटा दूध डेरी र ३ वटा कृषि उपज भण्डार तथा पसल गरी १२ वटा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको थियो। टोलीले दूध तथा कृषि उपजको गुणस्तर, सरसफाइ, भण्डारण अवस्था, मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरणलगायतका विषयमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा केही व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण समयमै नगरेको पाइएको नगरपालिकाले जनाएको छ। त्यस्ता व्यवसायीलाई प्रचलित कानुन तथा नगरपालिकाको मापदण्डअनुसार व्यवसाय दर्ता र नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

नगर उपप्रमुख चौधरीले नियमित बजार अनुगमनले उपभोक्ताको विश्वास बढाउनुका साथै व्यवसायीलाई गुणस्तर, सरसफाइ, कानुनी प्रक्रिया र जिम्मेवार व्यवसाय सञ्चालनप्रति सचेत बनाउन सहयोग पुग्ने बताइन्।

नगरपालिकाको आर्थिक विकास शाखाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण तथा स्वस्थ र व्यवस्थित बजार वातावरण निर्माणमा जोड दिइने बताए।

अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रशासकीय अधिकृत मुक्तिराम खनाल, वरिष्ठ प्रशासन सहायक मीना अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि प्रकाश भण्डारी, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायब निरीक्षक सनन्दन प्रसाद यादव, तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग व्यापार संगठन, चेम्बर अफ कमर्स तिलोत्तमाका प्रतिनिधि, नगर प्रहरी तथा नगरपालिकाका कर्मचारी सहभागी थिए।

You may also like