बुटवल । सुनसरीसहित देशका विभिन्न स्थानमा हालै भएका हिंसात्मक घटनाप्रति बुटवलमा क्रियाशील १२ राजनीतिक दलले गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
दलहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका हिंसा, द्वेष, जातीय वा साम्प्रदायिक तनाव सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने स्पष्ट पारेका छन्। उनीहरूले सबै नागरिकलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न र आपसी भाइचारा तथा सद्भाव कायम राख्न आग्रह गरेका छन्।
विज्ञप्तिमा हालै भएका घटनाको सत्यतथ्य निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। कानुनी शासनको प्रभावकारी कार्यान्वयनबाट मात्रै समाजमा शान्ति, सुरक्षा र नागरिकको विश्वास कायम रहने दलहरूको भनाइ छ।
बुटवल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सहर भएकाले यहाँको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामुदायिक सद्भाव जोगाउनु सबैको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सामाजिक सद्भावलाई कुनै पनि बहानामा खल्बल्याउने गतिविधिप्रति सचेत रहँदै एकता र सहकार्यको वातावरण निर्माण गर्न सबैलाई आह्वान गरिएको छ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका बुटवल सभापति राजेश्वर पाण्डे (राजन), नेपाली कांग्रेसका उपसभापति ज्योति भण्डारी, नेकपा (एमाले) का अध्यक्ष शोभाकर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका संयोजक महेन्द्र भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव गंगालाल सापकोटा, नेपाल कम्युनिष्ट पार्टीका संयोजक दीपक पौडेल, नेकपा (माओवादी केन्द्र) का इन्चार्ज विष्णु प्रसाद बेलवासे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मानबहादुर कुँवर, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्ण भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष दीपक गुरुङ तथा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रतिनिधि तिलक गिरीको हस्ताक्षर रहेको छ।


