सुनसरीमा दुई पक्षबीच भीषण झडप, प्रहरी र सशस्त्र बल परिचालन

by समतल अनलाइन
48Shares

विराटनगर ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा दुवै पक्ष ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए । रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग गर्दै एकअर्कामाथि आक्रमण भएको बताइएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार साँझको समयमा भिड नियन्त्रण गर्न कठिनाइ भएको थियो ।

“दुई पक्षबीच भेला भएर झडप गरिरहेका छन् । स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी परिचालन गरिएको भए पनि साँझको समय भएकाले अवस्था निकै चुनौतीपूर्ण बनेको छ,“ उनले भने ।

झडपका क्रममा सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा भएपछि केही प्रहरी टोली सुरक्षित स्थानतर्फ फर्किन बाध्य भएको सुरक्षा स्रोतले जनाएको छ । घटनास्थलमा पुग्न कठिनाइ भएकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार देवानगञ्ज बजार, घुस्कीलगायत क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका छन् । केही स्थानबाट दनदनी आगो बलिरहेको देखिएको छ भने सर्वसाधारण त्रसित भएर घर छाड्न बाध्य भएका छन् । वृद्धवृद्धा, महिला र बालबालिकाको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ ।

यसअघि मंगलबार दिउँसो पनि देवानगञ्ज–३ कप्तानगञ्जका केही घरमा आगजनी भएको थियो । दिनभर विभिन्न स्थानमा तनावपूर्ण अवस्था रहेपछि सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीय अगुवासँग छलफल गरेका थिए ।

घटनापछि देवानगञ्ज र हरिनगर क्षेत्रको सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । नेपाली सेनाले दिनको समयमा हेलिकोप्टरमार्फत हवाई निगरानी गरेको थियो भने स्थलमार्फत पनि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

You may also like

This will close in 0 seconds