आवासीय भिसा किर्ते गरेको आरोपमा पूर्व अध्यागमन कर्मचारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

by समतल अनलाइन
35Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवासीय भिसा किर्ते गरी गैरकानुनी रूपमा जारी गरेको आरोपमा अध्यागमन विभागका गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार महतोले अध्यागमन सूचना प्रणालीको ‘यात्री एकीकरण’ सुविधा दुरुपयोग गर्दै लक्जेम्बर्गका नागरिक पल क्रिस्टियन पिएर गेडिट्जको नाममा जारी भएको आवासीय भिसाको विवरण अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा गैरकानुनी रूपमा परिवर्तन गरेका थिए ।

अनुसन्धानका क्रममा कानुनबमोजिमको प्रक्रिया पूरा नगरी, अधिकारप्राप्त अधिकारीको निर्णयबिनै तथा आवश्यक राजस्वसमेत नबुझाई २०८० फागुन ९ गते उक्त भिसाको अभिलेख प्रणालीमै हेरफेर गरिएको खुलेको आयोगले जनाएको छ। त्यसपछि सोही भिसा अमेरिकी नागरिक रोबिन्सनको राहदानीमा टाँसी नेपालमा बसोबास गरिएको पनि आयोगको दाबी छ ।

आयोगका अनुसार सरकारी अभिलेखमा अनधिकृत रूपमा हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि पुर्‍याउने कार्य भएकाले राजिव महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ तथा अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध सोही ऐनको दफा २२ अन्तर्गत मुद्दा दायर गरिएको हो। अख्तियारले दुवै जनालाई कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

You may also like

This will close in 0 seconds