काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ठगी कसुरमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामध्ये नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।
प्रतिवादी बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी पाँच जनालाई भने फरार प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको छ।
सीआईबीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार उनीहरूविरुद्ध ठगी कसुरमा अभियोग दर्ता गरिएको हो। अब अदालतले मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
बाल मन्दिरको सम्पत्ति तथा व्यवस्थापनमा भएको अनियमितताबारे अध्ययन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन भएको आयोगले २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भने मन्त्रिपरिषद्ले गत चैतमा मात्रै गरेको थियो।
सरकारको निर्णयपछि सीआईबीले प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा सम्बन्धित पूर्वपदाधिकारीविरुद्ध ठगी कसुरमा मुद्दा दायर गरिएको प्रहरीको भनाइ छ।
बाल मन्दिरको सम्पत्ति दुरुपयोग र अनियमिततासम्बन्धी यो प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको थियो। अदालतमा मुद्दा दर्ता भएसँगै अब यसको न्यायिक प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

