मुम्बई । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ स्थायी घर भई भारतको मुम्बईमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली शेफ बिष्णु खत्री अन्तर्राष्ट्रिय पाककला संस्था इन्टरनेशनल कुलिनरी एलायन्स (आईसीए) को मुम्बई शाखाको अध्यक्ष नियुक्त भएका छन्।
आईसीएले सार्वजनिक गरेको घोषणाअनुसार खत्रीलाई मुम्बई शाखाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरिएको हो। संस्थाले शेफहरूको पेशागत क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार, सीप आदान–प्रदान तथा पाककलाको क्षेत्रमा उत्कृष्टता प्रवर्द्धन गर्न उनले प्रभावकारी नेतृत्व गर्ने विश्वास व्यक्त गरेको छ।
गुल्मीबाट आफ्नो यात्रा सुरु गरेका खत्री विगत लामो समयदेखि मुम्बईमा सफलतापूर्वक व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनले होटल तथा रेस्टुरेन्ट व्यवसायसँगै नेपालका विभिन्न क्षेत्रमा समेत लगानी गर्दै आएका छन्। विदेशमा रहे पनि नेपालसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै स्वदेशमा रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा समेत उनको योगदान रहेको छ ।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि खत्रीले यो अवसरलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई विश्वभर रहेका शेफहरूको हित, सीप विकास र अन्तर्राष्ट्रिय अवसर विस्तारका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने,आईसीएले ममाथि गरेको विश्वासलाई सम्मान गर्दै सम्पूर्ण शेफ समुदायको हितमा काम गर्नेछु। नेपाली शेफहरूको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्ने, विभिन्न देशका शेफहरूबीच सहकार्य बढाउने र युवा पुस्तालाई अवसर सिर्जना गर्ने मेरो प्राथमिकता हुनेछ।
नवनियुक्त अध्यक्ष खत्रीले आईसीएको उद्देश्यअनुसार विश्वभरका शेफहरूबीच व्यावसायिक सहकार्यलाई अझ मजबुत बनाउँदै पाककला क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

