बुटवल । बुटवल–३ गोलपार्कस्थित विसिआई मल्टिपल एजुकेशन सेन्टरले सुरक्षा सेवा तयारी कक्षाबाट नेपाल प्रहरी जवानमा नियुक्ति हुन सफल प्रशिक्षार्थीलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विसिआईको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रहरी जवानमा नियुक्ति हुन सफल प्रशिक्षार्थीलाई टीका, खादा तथा मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता विसिआईका प्रबन्ध निर्देशक दिपक केसीले गरेका थिए भने प्रमुख अतिथि पूर्व नेपाल प्रहरी उपरीक्षक मेघराज कँडेल रहेका थिए। पुरुषोत्तम ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन प्रतिमा भट्टराईले गरेकी थिइन्। कार्यक्रममा शिक्षकहरू जीवन पाण्डे, कमल जिसी, माधव अर्याल र अंकित गिरीको आतिथ्यता रहेको थियो। अध्यक्ष दिपक केसीले २०७८ सालदेखि सञ्चालनमा आएको सुरक्षा सेवा तयारी कक्षाले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको बताए। उनका अनुसार यस वर्ष नेपाल प्रहरी जवानतर्फ देशभरबाट छनोट भएका २ हजार ९२८ जनामध्ये विसिआईबाट मात्रै १५० जना सफल भएका छन्।
उनले नवलपरासीका सुरज पासी नेपालभर प्रथम स्थान हासिल गर्न सफल भएको जानकारी दिँदै २३८ जना सहभागीमध्ये करिब ८५ प्रतिशत प्रशिक्षार्थी सफल भएको बताए। यो नतिजाले विसिआईको गुणस्तरीय प्रशिक्षण र प्रभावकारी तयारीलाई पुष्टि गरेको उनको भनाइ थियो। हाल विसिआईबाट सफल भएका १०० भन्दा बढी प्रशिक्षार्थी लुम्बिनी प्रदेश तालिम केन्द्र र ५० जना गण्डकी प्रदेश तालिम केन्द्रमा तालिमरत रहेका छन्। २०७८ सालमा पहिलो ब्याचका १७ जनामध्ये ११ जना सफल भएका थिए भने त्यसयता प्रत्येक वर्ष सफलता दर बढ्दै गएको सेन्टरले जनाएको छ।
प्रमुख अतिथि मेघराज कँडेलले अनुशासन, इमान्दारिता, मेहनत र आत्मविश्वास नै सुरक्षा सेवाको आधार भएको उल्लेख गर्दै सफल प्रशिक्षार्थीलाई राष्ट्र र नागरिकको सेवामा समर्पित भएर काम गर्न आग्रह गरे। सफल प्रशिक्षार्थीका तर्फबाट विमल पाण्डे, धर्मेन्द्र बानियाँ, स्नेहा श्रेष्ठ, इच्छा नेपाली र सुष्मिता परियारले आफ्नो अनुभव सुनाउँदै नियमित अभ्यास, शारीरिक तयारी, आत्मविश्वास र प्रशिक्षकहरूको निरन्तर मार्गदर्शनका कारण सफलता हासिल गर्न सकेको बताए।
उनीहरूले आगामी ब्याचका प्रशिक्षार्थीलाई निरन्तर मेहनत गर्न आग्रह गर्दै लक्ष्यप्रति दृढ रहे सफलता निश्चित हुने विश्वास व्यक्त गरे। कार्यक्रममा नियुक्ति हुन सफल प्रशिक्षार्थीलाई सम्मान गर्दै आगामी दिनमा अझ धेरै युवालाई नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

