बुटवल ।वीपी कोइराला अध्ययन प्रतिष्ठान, बुटवल–७ ले ४५औं वीपी स्मृति दिवस तथा प्रतिष्ठानको १९औं स्थापना दिवसका अवसरमा वीपी वाटिकामा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेको छ।
प्रतिष्ठानका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घबहादुर केसी (कुमार) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, सचिव खिमानन्द भट्टराई, नेपाली कांग्रेस क्षेत्रीय सचिव बिमलराज भट्टराईलगायतले वीपी कोइरालाको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले वीपी कोइराला नेपाली लोकतन्त्रका अग्रणी नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार भएको उल्लेख गर्दै उहाँका विचार आज पनि राष्ट्रका लागि मार्गदर्शक रहेको बताउनुभयो।
प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले वीपीको स्मृति दिवस र प्रतिष्ठानको स्थापना दिवस एकै अवसरमा मनाउन पाउनु गौरवको विषय भएको उल्लेख गर्दै प्रतिष्ठानले वीपीका विचार, सिद्धान्त र योगदानको अध्ययन, अनुसन्धान तथा प्रचार–प्रसारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले वीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको अटल प्रतिबद्धताको चर्चा गर्नुभयो भने सचिव खिमानन्द भट्टराईले वीपीको बहुआयामिक योगदानको स्मरण गर्दै आगामी दिनमा प्रतिष्ठानले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले वीपी कोइरालाको शालिक र तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए। प्रतिष्ठानले वीपीका विचारलाई नयाँ पुस्तामाझ पुर्याउन नियमित रूपमा शैक्षिक तथा स्मृति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

