रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु ,७ घाइते

by समतल अनलाइन
103Shares

बुटवल।रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बिहीबार ओमसतिया गाउँपालिका–२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उउपमहानगरपालिका–३, का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको हो ।

दुर्घटनाका क्रममा बरालको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा भिम अस्पताल भैरहवामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ बस्ने ५० वर्षीया कृष्णकुमारी बेलबासे, ३४ वर्षीया श्रद्धा जोशी, कपिलबस्तु शिवराज नगरपालिका–२ बस्ने १९ वर्षीय प्रकाश गाहा, पाल्पा रिब्दीकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीय सुनिल थापा, रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देही मर्चवारी गाउँपालिका–७ वडवलिया बस्ने ५५ वर्षीया शाहाबुन निसा र नवलपरासी सुनवल नगरपालिका–६ बस्ने ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार भएका चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like