सरकारले जनआन्दोलनको मर्मविपरीत काम गरिरहेको छ : ज्ञानेन्द्र शाही

by समतल अनलाइन
34Shares

बुटवल ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले जनआन्दोलनको मर्मविपरीत शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्। उनले जनआन्दोलन विधिको शासन स्थापना र कानुनको प्रभावकारी कार्यान्वयनका लागि भएको स्मरण गराउँदै सरकार भने कानुनअनुसार चल्न नसकेको टिप्पणी गरे।

शाहीले सवारीसाधनबाट कालो सिसा हटाउने सरकारी अभियान सकारात्मक भए पनि त्यसको कार्यान्वयनमा सरकारकै मन्त्रीहरू असफल भएको दाबी गरे। नियम सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै उनले मन्त्रीहरूले नै कानुन उल्लंघन गरिरहेको आरोप लगाए।

“मन्त्रीहरू कालो सिसा भएको गाडीमा हिँडिरहेका छन्। सिटबेल्टसमेत नलगाई यात्रा गरिरहेका छन्। कारबाही भने जनतालाई मात्र हुने?” भन्दै उनले सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाए। कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्वयं उदाहरण प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

उनले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारलाई पनि यस्तै कमजोरीका कारण सत्ता छोड्नुपरेको उल्लेख गर्दै कानुन सबैका लागि समान हुनुपर्ने बताए।

शाहीले बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदसहित सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे। सरकार आफूमाथि छानबिन नगरी अरूको मात्र सम्पत्ति अनुसन्धान गर्नु गलत हुने उनको तर्क थियो।

“बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूमध्ये धेरैले जागिर वा व्यवसाय नगरी करोडौँदेखि अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति कसरी आर्जन गरे? त्यसको स्रोत के हो? भन्ने प्रश्न आम नागरिकले उठाइरहेका छन्,” उनले भने। “सम्पत्ति छानबिन गर्ने हो भने सबैको गर्नुपर्छ। पहिला आफैँबाट सुरु गर्नुपर्छ।”

शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरूको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्ने बताए। साथै, उनले काठमाडौं महानगरपालिकाका पूर्वमेयरहरूको सम्पत्तिमाथि छानबिन नगर्नुले सरकारको सुशासनप्रतिको नियतमाथि प्रश्न उठेको दाबी गरे।

अर्को प्रसंगमा उनले भारतमा ‘गोदी मिडिया’ को उदाहरण दिँदै नेपालमा केही युट्युब र कन्टेन्ट क्रिएटरहरूले तथ्यभन्दा बढी प्रचारमुखी सामग्री उत्पादन गरिरहेको आरोप लगाए। विशेषगरी विदेशमा रहेका नेपालीहरूले यस्ता भिडियोका आधारमा देशको वास्तविक अवस्था नबुझी व्यक्तिहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

देशमा व्यापार–व्यवसाय धराशायी भइरहेको अवस्थामा त्यसको समाधान खोज्नुभन्दा सामाजिक सञ्जाल र विभिन्न मिडिया कन्टेन्टमार्फत भ्रामक तथा नकारात्मक विषयवस्तु फैलाउने काम भइरहेको उनले आरोप लगाए।

You may also like