विश्वकप लिग- २ को सिरिज खेल्न जाने नेपाली टिमको बिदाई

by समतल अनलाइन
43Shares

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत हुने सिरिजका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी रहने उक्त सिरिज जुलाई २१ देखि सुरु हुनेछ । त्यसअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम रूप दिनेछ ।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको बताए । उनले पछिल्लो सातादेखि टोलीले विशेष रूपमा फिटनेस र खेल रणनीतिमा ध्यान केन्द्रित गरेको जानकारी दिए ।

क्यानले १५ सदस्यीय टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई समावेश गरेको छ । त्यस्तै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

यस टूर अन्तर्गत नेपालले जर्सीसँग जुलाई १३ र १५ मा दुई अभ्यास खेल खेल्ने तालिका छ भने लिग-२ को सिरिजमा जुलाई २१ देखि ३१ जुलाईसम्म नेदरल्याण्डस र नामिबियासँग नेदरल्याण्डसमा खेल्ने छ ।

नेपाल लिग-२ मा हाल २८ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ ।

You may also like