बुटवलमा विभेदविरुद्ध बृहत् अन्तरसंवाद, समतामूलक समाज निर्माणमा जोड

by समतल अनलाइन
31Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा रेडियो जागरण ९३.२ मेगाहर्ज बुटवलको समन्वयमा शनिबार ‘विभेदविरुद्ध बृहत् अन्तरसंवाद कार्यक्रम’ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम आइतबार सम्पन्न हुनेछ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आफू निर्वाचित भएदेखि नै ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहर’ भन्ने मूल नारालाई नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएको बताए। उनले बुटवललाई विभेदमुक्त, समानता र मानवताको सहरका रूपमा स्थापित गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरे।

नगर प्रमुख पाण्डेयले शिक्षा, आर्थिक, राजनीतिक तथा सामाजिक सुधारपछि मात्र जातीय विभेद अन्त्य गर्न सहज हुने धारणा राखे। दलित समुदायको हकहित, उत्थान र संरक्षणका लागि सुनचाँदीका गरगहना बनाउने, पञ्चेबाजा बजाउनेलगायत विभिन्न सीपमूलक तालिम सञ्चालन गरी समुदायलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको उनले बताए।

कार्यक्रमको पहिलो सत्रमा ‘बुटवल उपमहानगरपालिकाको नीति कति समावेशी ?’ विषयमा बहस भएको थियो। सामाजिक अध्येता रामचन्द्र श्रेष्ठले स्थानीय तहमा दलित समुदायको राजनीतिक प्रतिनिधित्व बढे पनि निर्णय प्रक्रियामा उनीहरूको प्रभावकारी भूमिका अझै सुदृढ गर्न आवश्यक रहेको बताए। उक्त सत्रमा बुटवल–१५ का वडा अध्यक्ष शिव राना र अध्यापक जीवन परियार वक्ताका रूपमा सहभागी थिए भने पत्रकार फूलु सुनारले सहजीकरण गरेकी थिइन्।

दोस्रो सत्रमा ‘दलित समुदायको संवैधानिक अधिकार र कानुन कार्यान्वयनको अवस्था’ विषयमा बहस गरिएको थियो। कार्यक्रममा सन्तोष आचार्य, प्रकाश मरासिनी, अक्षय कुमार रावल, दीपा विक र गोमति सुनार वक्ताका रूपमा सहभागी थिए। उक्त सत्रको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए।

तेस्रो सत्रमा ‘जनप्रतिनिधिको अनुभवः सिकाइ, चुनौती र अवसर’ विषयमा छलफल भएको थियो। यसमा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरू यमबहादुर सुनार, कृष्ण सुनार, सुनिता खड्लुक र बसन्ती विकले आफ्ना अनुभव प्रस्तुत गरेका थिए। सत्रको सहजीकरण पत्रकार अम्बिका परियारले गरेकी थिइन्।

कार्यक्रममा सहभागीहरूले २१औँ शताब्दीमा पनि जातीय विभेद समाजमा गहिरो रूपमा जरो गाडेर रहेको भन्दै दलित समुदायले विभिन्न बहानामा विभेद भोग्नुपरेको गुनासो गरे। संविधानमा स्पष्ट कानुनी व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय अझै समस्यामा रहेको उनीहरूको भनाइ थियो।

अन्तरसंवाद कार्यक्रममा कमला विश्वकर्मा, बुटवल–६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल–९ का वडा अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, रेडियो जागरणका सञ्चालक सरोज गौतम, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा, दलित अगुवा पदम विश्वकर्मालगायत जनप्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

You may also like