यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन: उम्मेदवारी फिर्ताप्रति मनिष झाको कटाक्ष

by समतल अनलाइन
55Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री (खुला) पदका उम्मेदवार मनिष झाले अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता गरी विपिन आचार्यलाई समर्थन गरेको घटनाप्रति असन्तुष्टि जनाउँदै यसलाई ‘आलोकाँचो राजनीति’को संज्ञा दिएका छन्।

महामन्त्री पदका आकांक्षी गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपानेलगायत नेताले उम्मेदवारी दर्ता गरेपछि पछि फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै झाले भने, ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन। हिजो राति उम्मेदवारी दिने तर आज फिर्ता लिने? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू परिणाम जेसुकै भए पनि अन्तिमसम्म भिडिरहन्छन्।’

उम्मेदवारी फिर्तापछि अब महामन्त्री (खुला) पदका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुने भएको छ।

मनिष झा रास्वपाका निवर्तमान प्रवक्ता हुन् भने विपिन आचार्यलाई सभापति रवि लामिछाने निकट नेताका रूपमा हेरिन्छ। पछिल्लो समय मनिषले पार्टीभित्र अपेक्षाअनुसार भूमिका नपाएको चर्चा हुँदै आएको छ। २१ फागुनमा सम्पन्न निर्वाचनपछि पनि उनलाई मन्त्री वा संसदीय भूमिकामा ल्याउन पार्टी नेतृत्वले विशेष पहल नगरेको टिप्पणी पार्टीभित्र सुनिँदै आएको छ।

यसपटक पनि मनिष झाविरुद्ध अन्य उम्मेदवारलाई फिर्ता गराएर विपिनको पक्षमा उभ्याइएको आरोप सभापति रवि लामिछानेले खेपिरहेका छन्। यद्यपि, यसबारे पार्टी नेतृत्वले औपचारिक प्रतिक्रिया दिएको छैन।

केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम हेर्दा मनिष झाले २,२८१ मत प्राप्त गरेका थिए भने विपिन आचार्यले २,१६९ मत ल्याएका थिए। यस आधारमा मनिषले विपिनभन्दा ११२ मत बढी प्राप्त गरेका थिए।

You may also like