बिसिआईद्वारा नेपाल आर्मीमा नाम निकाल्न सफल ७२ युवालाई बिदाइ

by समतल अनलाइन
85Shares

बुटवल । बुटवल–११ गोलपार्कस्थित बीसीआई मल्टिपल कम्प्युटर इन्स्टिच्युटले नेपाल आर्मीमा छनोट भएका ७२ जना युवालाई एक समारोहबीच बधाई तथा सम्मान गरेको छ ।

विहीबार आयोजित कार्यक्रममा बिसिआईमार्फत अध्ययन तथा तयारी गरेका युवाहरू नेपाल आर्मीमा सफलतापूर्वक छनोट भएपछि उनीहरूको मेहनत, लगनशीलता र उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो ।

बिसिआईका प्रबन्ध निर्देशक दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक योगराज पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अतिथिमा दिपक पराजुली रहेका थिए। यस्तै, नेपाल प्रहरीका वरिष्ठ सई कमल भण्डारी, प्रशिक्षक कमल जीसी, पशुपति भट्टराई र जीवन पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक केसीले संस्थाबाट तयारी गरेका ७२ जना युवा नेपाल आर्मीमा छनोट हुनु संस्थाका लागि गौरवको विषय भएको बताए। उनले युवालाई केवल परीक्षा उत्तीर्ण गराउने मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकास गर्न संस्था निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।

प्रमुख अतिथि योगराज पोखरेलले नेपाल आर्मीमा छनोट हुनु व्यक्तिगत उपलब्धि मात्र नभई परिवार, समाज र राष्ट्रकै गौरवको विषय भएको बताउँदै राष्ट्रसेवाको जिम्मेवारीलाई उच्च मनोबल, इमान्दारिता र समर्पणका साथ निर्वाह गर्न युवाहरूलाई आग्रह गरे। वरिष्ठ सई भण्डारीले सुरक्षाकर्मीको जीवनमा अनुशासन, कर्तव्यनिष्ठा र देशप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हुने भन्दै छनोट भएका युवालाई राष्ट्र र जनताको सेवामा समर्पित हुन सुझाव दिए ।

प्रशिक्षक कमल जीसी, पशुपति भट्टराई र जीवन पाण्डेले युवाहरूको सफलताले अन्य युवामा पनि सकारात्मक ऊर्जा र प्रेरणा थपेको बताउँदै निरन्तर मेहनत, दृढ संकल्प र सही मार्गदर्शनले जुनसुकै लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

आगामी दिनमा पनि दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न तयारी कक्षा तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रम सञ्चालन दिपक नेपालीले गरेका थिए।

You may also like