काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य आशिका तामाङ ले प्रधानमन्त्री बालेन्द्र शाह को हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसदमा उपस्थित भएर प्रतिपक्षका प्रश्नहरूको जवाफ दिन आग्रह गरेकी छन्।
प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि त्यस विषयमा स्पष्ट धारणा राख्नुपर्ने भन्दै तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी हुन्।
तामाङले निरन्तरको राजनीतिक अवरोधका कारण प्रतिनिधिसभाको कार्यसम्पादन प्रभावित भएको बताउँदै सभामुख डोल प्रसाद अर्याल समेत दबाबमा परेको जिकिर गरेकी छन्।
सामाजिक सञ्जालमा उनले सभामुखले चाहेअनुसार सदन सञ्चालन गर्न नपाएको अनुभूति धेरैलाई भएको उल्लेख गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने बताएकी छन्।
“कृपया सदनमा आइदिनु भई प्रतिपक्षका सवालहरूको जवाफ दिनुहोस् र संसदको अवरोध अन्त्य गर्न सहयोग गर्नुहोस्,” भन्दै तामाङले प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्।
हाल प्रधानमन्त्रीको अभिव्यक्ति र त्यससँग जोडिएको संसदीय विवादलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच बहस जारी रहेको छ।


